काठमाण्डौं, २ चैत्र । नेपाल सरकारले नवीकरणीय ऊर्जा प्रविधिमा दिने अनुदानको नयाँ नीति ल्याएको छ । नवीकरणीय ऊर्जा अनुदान नीति, २०६९ विगतको अनुदान नीति भन्दा बढि समावेशी रहेको छ ।
विगतको अनुदान नीतिलाई समावेशीकरण तथा प्रभावकारी बनाई अनुदानले प्रविधिको प्रवद्र्धन गर्ने, शुरुको उच्च लागत कम गरी न्यून आय भएका घरपरिवारहरुले समेत प्रविधि खरिद गर्न सक्ने बनाउन यो नवीकरणीय ऊर्जा अनुदान नीति २०६९ को तर्जुमा गरिएको छ । अनुदान रकमको दर निर्धारण गर्दा समग्रमा अनुदानले नवीकरणीय ऊर्जा प्रणालीको कूल लागत वा मूल्यको करिव ४० प्रतिशत, वित्तिय संस्थावाट उपलव्ध गराइने सरल कर्जाले करिव ४० प्रतिशत र लक्षित घरधुरी वा समुदायले न्यूनतम २० प्रतिशत नगद रकम र श्रमदान व्यहोर्ने आधारलाई लिइएको छ ।
लघु जलविद्युतमा यस अघि ५०० किलोवाट सम्मका आयोजनाहरुमा मात्रै दिईदै आइएको अनुदान आगामी दिनमा १ मेगावाट सम्म क्षमताका जलविद्युत आयोजनाहरुमा उपलव्ध गराइने व्यवस्था नयां अनुदान नीतिले ल्याएको छ ।
भान्छाबाट निस्कने फोहर तथा अन्य घरायसी जैविक वस्तुहरु अधिकतम प्रयोग गरी निमार्ण गरिने ४ घन मिटर वा सो भन्दा कम क्षमताका र संस्थागत, सामुदायीक तथा सार्वजनिक निकायमा निर्माण गरिने ठुला वायोग्यास प्लान्टमा समेत अनुदानको व्यबस्था गरिएको छ । साथै सौर्य ऊर्जा लगायत नवीकरणीय ऊर्जाका ठूला तथा व्यवसायीक प्रयोजनका प्रणलीमा विशेष प्राथमिकता दिइएको छ । वायु ऊर्जामा समेत छुट्टै अनुदानको व्यवस्था गरिएको छ ।
नवीकरणीय ऊर्जा परियोजनाहरुलाई दिगो बनाउन तथा ग्रामीण जनताहरुको जीवनस्तरमा सुधार ल्याउन नवीकरणीय ऊर्जा प्रविधिहरुमा आधारित ऊर्जाको उत्पादनमुलक परिप्रयोगसँग सम्वन्धित उपयोग्यमुलक वस्तु र सेवाहरु उत्पादन गर्नुका साथै रोजगारी तथा आयआर्जन गर्ने व्यवसायहरुलाई समेत आगामी दिनमा अनुदान दिई प्रोत्साहन गर्ने नीति रहेको छ । यो अनुदान नीतिले निजी क्षेत्रलाई नवीकरणीय ऊर्जाको व्यवसायीकरण, गुणस्तरीयता र ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्न प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।
विगतको अनुदान नीति भन्दा बढि समावेशी मानिएको यो नीतिले एकल महिला, पिछडिएका वर्ग, विपत्ती पिडित, गरिव, द्धन्द्धवाट प्रभावित तथा सरकारले पहिचान गरेका लोपोन्मुख जनजाति आदिको लागि नवीकरणीय ऊर्जा प्रविधिमा थप अनुदान रकमको व्यवस्था गरेको छ ।
देशमा नवीकरणीय ऊर्जा सम्बन्धी उद्योगहरुको विकास र निजी क्षेत्रलाई ठूला क्षमताका आयोजनाहरुमा लगानी गर्न आकर्षित गर्नुको अतिरिक्त नवीकरणीय ऊर्जा प्रविधिका सेवाहरु घरपरिवार तथा समुदायमा गुणस्तर बनाई ग्रामीण क्षेत्रहरुमा लघु, साना तथा मध्यम खालका व्यवसायको विकास गर्ने, सवै समुदायकालाई लाभ पु¥याई अझ बढी समानुपातिक आर्थिक बृद्धि हासिल गर्ने दीर्घकालिन लक्ष्य यस नीतिले लिएको छ ।
नवीकरणीय ऊर्जा प्रविधि वा प्रणालीमा सरल, प्रभावकारी तथा पारदर्शि तरिकाले अनुदान परिचालन गर्न यस सम्बन्धी नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधिलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तयार गरी मन्त्रालयले स्वीकृत गरेपछि लागू गरिनेछ ।
नवीकरणीय ऊर्जा स्रोतबाट हालसम्म देशका करिव १२ प्रतिशत जनसंख्यालाई विद्युतको पहुँच पुगेको छ । हालसम्म लघु जलविद्युत आयोजनाबाट करिव २३ मेगावाट विद्युत, सौर्य ऊर्जाबाट करिव १२ मेगावाट विद्युत र वायु ऊर्जाबाट करिव २० किलोवाट विद्युत उत्पादन भएको छ । त्यसैगरी, १५ लाख भन्दा बढी घरपरिवारहरु नवीकरणीय ऊर्जाका विभिन्न स्रोतहरुबाट खाना पकाउन, बत्ति वाल्न तथा उत्पादनशिल परिप्रयोगबाट लाभान्वित भएका छन् ।
No comments:
Post a Comment