१३ पुस, काठमाडौं । सहमतीय सरकारका लागि पाँचदिने समय दिएर भारत भ्रमणमा गएका राष्ट्रपति डा. रामवरण यादव त्यहाँ राजनीतिक भेटवार्तामा व्यस्त हुनुहुन्छ । यता नेपालमा रहेका नेताहरु भने सहमतीय सरकार गठनका लागि छलफल गर्नुको सट्टा एकआपसमा आरोप-प्रत्यारोप गर्नमै व्यस्त छन् । दिल्ली भ्रमणका क्रममा राष्ट्रपति डा. यादवले आफू नेपाल फर्कनेवित्तिकै सहमति हुन्छ भनिरहेका बेला शुक्रबार नेपालभित्र नेताहरुले बोलेका केही झाँकी सुन्ने हो भने तत्कालै सहमति होला भनेर पत्याउने आधार देखिँदैन ।
कुर्सी छाड्दिन : प्रधानमन्त्री
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरुबीच सहमति नहुँदासम्म आफूले पद नछाड्ने दोहोर्याउनुभएको छ । कास्कीको सिल्दूजरे गाविसमा शुक्रबार उपल्लो मादी जलविद्युत आयोजनाको शिलन्यास गर्दै उहाँले कसैले छोड् भन्दैमा आफूले पद नछाड्ने बताउनुभएको हो । ‘दलहरुबीच पदको लडाइर्ं चलिरहेको छ, तर सहमति जुटेको छैन’ प्रधानमन्त्रीले भन्नुभयो-’सहमतिको लागि आफू बाधक बन्दिन ।’ आफूलाई सहमतिको लागि बाधक बनेको भनेर लाग्ने गरेको आरोप झुटो भएको पनि प्रधानमन्त्रीले दावी गर्नुभयो ।
सरकारले आत्मसमर्पण गर्दैन : सरकारका प्रवक्ता
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सहमतिका लागि विपक्षी दलहरुले अघि सारेको प्रस्ताव आफूहरुलाई स्वीकार्य नरहेको वताउनुभएको छ । मन्त्री यादवले सहमतिका नाममा वर्तमान सरकारले विपक्षी दल सामू आत्मसमर्पण नगर्ने पनि बताउनुभएको छ । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका यादवले वर्तमान सरकार कानुन सम्मत गठन भएको जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकार कसैको आशिर्वाद र कृपाले गठन भएको नभई सडकमा हल्ला गर्दैमा सरकार प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,’ विपक्षीको कुरा मान्दा सहमति, नमान्दा बिमति, यो कहाँको नियम हो ?”
खनाल र गौतमको गर्जन
प्रधानमन्त्री र सञ्चारमन्त्रीले सरकार नछाड्ने बताइरहेका बेला नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक सहमति बिथोलेर एकीकृत माओवादीले सत्ता लम्ब्याउन खोजेको आरोप लगाउनुभएको छ । खनालले सत्तामा रहेको एमाओवादी र मधेशीमोर्चा लगायतका केही दलहरु सत्ता लम्ब्याएर आगामी बैशाखमा पनि निर्वाचन हुन नदिने खेलमा लागेको वताउनुभयो । मोरङको विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै खनालले एमाओवादी जनतामाथि तानाशाही सत्ता लाद्नका लागि विभिन्न जालझेलमा लागेको वताउनुभयो । हाँले राजनीतिक सहमति नभए विपक्षी दलले अब आन्दोलनवाटै सरकार ढाल्ने वताउनु भयो । खनालले राष्ट्रपति भारतबाट फर्किएलगत्तै सहमतिको प्रयास थालिने र त्यो सम्भव नभए कडा आन्दोलनमा जाने बताउनुभयो ।
यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक बनेको आरोप लगाउनु भएको छ । उहाँले वर्तमान सरकार र सत्तारुढ दल संवैधानिक तथा राजनीतिक सङ्कट खडा गरेर सत्ता टिकाइराख्ने खेलमा लागिपरेको बताउनुभयो । प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले एकदलीय तानाशाही व्यवस्था चाहनेको हातमा सत्ता भएकाले मुलुक अनिर्णयको बन्दी बनेको वताउनभयो । सहमति गर्ने वा आन्दोलन चाहने त्यो निर्णय अब सरकार र सत्ता गठबन्धन दलले गर्नु पर्ने गौतमको भनाइ छ ।
दिल्लीमा राष्ट्रपतिको व्यस्तता
भारत भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादव शुक्रबार पनि राजनीतिक भेटवार्तामा व्यस्त हुनुभयो । शुक्रबार उहाँले भारतीय जनता पार्टीका अध्यक्ष नितिन गडगडी, विदेश विभाग प्रमुख विजय जोली, काँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीसित भेटवार्ता गर्नुभयो । भेटवार्ताका क्रममा सबै नेताहरुले नेपालमा जारी राजनीतिक गतिरोध र निकासको लागि भैरहेको प्रयासबारे चासो र चिन्ता व्यक्त गरेका थिए । भेटपछि काँग्रेस आईका प्रवक्ता सिंघवीले नेपालको राजनीतिक अवस्थाको विषयमा राष्ट्रपतिसँग छलफल भएको जानकारी दिँदै राष्ट्रपतिले आफू फर्किएपछि मुलुकले निकास पाउने विश्वास ब्यक्त गरेको जानकारी दिनुभयो ।
भेटपछि भाजपा अध्यक्ष गडगडीले नेपालमा सहमतीय राजनीति अघि बढ्नुपर्ने भन्दै सहमतिको लागि राष्ट्रपतिले चालेको कदमको प्रशंसा गर्नुपर्छ । ‘राष्ट्रपतिले सहमतिको लागि खेलेको भूमिका महत्वपूर्ण छ’ नयाँ दिल्लीमा पत्रकारहरुसँग उहाँले भन्नुभयो -’त्यसबाट निकास निस्कन सक्छ ।’ नेपालमा को प्रधानमन्त्री बन्ने भन्ने कुरा नेपाली दलहरुले तय गर्नुपर्ने भन्दै त्यसमा आफूहरुको कुनै चासो नरहेको पनि उहाँले बताउनुभयो । राष्ट्रपतिले आफू स्वदेश र्फकेपछि सहमति हुनेमा भारतीय नेताहरुलाई आस्वस्त पार्नुभएको छ ।
No comments:
Post a Comment