१० पुस, काठमाडौं । पार्टी कार्यालय कोटेश्वरमा प्रायः आइरहने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यालयमा नआएको २० दिनभन्दा बढी भइसक्यो । पार्टी कार्यालयमा बैठकका लागि ठूलो हल नै भए पनि एमाओवादीले पार्टी कार्यालयमा बैठक नबोलाएको लामो समय बितिसक्यो ।
माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक गत शुक्रबार र शनिबार राजधानीको रोयलसिङ्घे होटलमा बस्यो । पार्टीका पूर्व पदाधिकारीहरु रहेको केन्द्रीय कार्यालयको बैठक पनि अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बस्ने गरेको छ । सेना समायोजन प्रक्रियामा अनमिनको प्रमाणीकरणमा पर्न नसकेका पूर्व लडाकुले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला हटाउनुपर्ने, स्वेच्छिक अवकाश रोजेका लडाकुसरह आफूहरुलाई पनि राहत रकम दिनुपर्नेलगायतका माग राखी गत मङ्सिर १२ गतेदेखि एमाओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा धर्ना दिइरहेका छन् ।
अप्रमाणित लडाकुहरुको पार्टी कार्यालयमा धर्नाका कारण सम्भावित दुर्घटना ननिम्तियोस् भनेर एमाओवादीले होटलमा बैठक बसालेको देखिन्छ । उनीहरुले त्यहाँ धर्ना दिनुका साथै सोही स्थानमै भात पकाएर सामूहिकरुपमा मेसमा खाना खाइरहेका छन् भने राति पनि पाल टाँगेर त्यहीँ सुतिरहेका छन् । अनमिनद्वारा अप्रमाणित चार हजार नौजना लडाकु भए पनि धर्नामा करिब ४ सय सहभागी छन् ।
गत मङ्सिर १९ गते एमाले निकट युवासङ्घको ज्ञापनपत्र बुझ्न एमाओवादी अध्यक्ष दाहाल पार्टी कार्यालय पेरिसडाँडामा आउनुभएको थियो । सो क्रममा बाहिर धर्नामा बसिरहेका अप्रमाणित लडाकुहरुले आफ्ना माग पूरा हुनुपर्ने भन्दै माओवादी नेतृत्वविरुद्धसमेत नाराबाजी गरेपछि त्यसयता अध्यक्ष दाहाल पार्टी कार्यालय आउन छोड्नुभएको छ ।
यस्तै पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई त यसबीचमा एकपटक पनि पार्टी कार्यालय प्रवेश गर्नुभएको छैन । पार्टी नेताहरु पार्टी कार्यालयमा नआएर होटलमा बैठक बस्न लागेको जानकारी आफूहरुले सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै संयोजक विष्ट अब होेटलमा बैठक बसे होटलमै गएर धर्ना दिने तयारी आफूहरुले गरेको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment