एजेन्सी, १४ पुस/ भारतको राजधानी नयाँदिल्लीमा बसभित्रै सामूहिक बलात्कार गरिएकी युवतीको आज बिहान सिंगापुरस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
अस्पतालाको शय्याबाटै संसार छाड्दा उनका परिवारहरूसमेत शय्याको छेउमै रहेको माउन्ट एलिजाबेथ अस्पतालका प्रमुख केल्भिन लोहलाई उद्धृत गर्दै बिबिसी अनलाइनले जनाएको छ । दिल्ली अस्पतालमा तीनपटकको शल्यक्रियापछि पनि उनको अवस्थामा सुधार आउन नसकेपछि उनलाई थप उपचारका लागि गएको बिहीबार सिंगापुर लगिएको थियो ।
शारीरिक र मानसिक रूपमा गम्भीर बिरामी रहे पनि मृत्युसँगको संघर्षमा उनी साहसी र निडर पाइएको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । उनको उपचारमा आठजना चिकित्सक संलग्न रहे पनि पछिल्ला दुई दिनमा उनको अवस्था थप बिग्रिएको पनि अस्पतालले जनाएको छ ।
उनको शवलाई आजै भारत ल्याउने तयारी भइरहेको बताइएको छ ।
यसैबीच, उनीमाथि भएको बलात्कारविरुद्ध दिल्लीमा अझै हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शन रोक्न आग्रह गर्दै सरकारले महिला सुरक्षाका लागि केही योजनासमेत सार्वजनिक गरिसकेको छ । योजनाहरूमा दिल्लीमा रात्रि गस्ति बढाउने, बसका चालक र सहचालकमाथि निगरानी राख्ने, बलात्कारमा संलग्नको नाम र ठेगाना सार्वजनिक वेबसाइटमा राख्नेलगायतका रहेका छन् ।
यस्तै सरकारले यौनिक हिंसाका मुद्दाको शीघ्र सुनुवाइ र दिल्लीमा सुरक्षा कमजोरीबारे अनुसन्धान गरी प्रतिवेदन पेस गर्न दुईवटा आयोगसमेत बनाएको बिबिसीको हिन्दी संस्करणमा जनाइएको छ ।
No comments:
Post a Comment