Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, January 3, 2013

बिप्लवको बाबुरामसँगको रहस्यमय भेटघाट


काठमाडौ, पुस १८ । एमाओवादीका उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवको बाक्लिदो भेटघाटले दुवै माओवादीमा विवाद उत्पन्न गराएको छ। विप्लव केही दिनदेखि निरन्तर प्रधानमन्त्री भट्टराईको सर्म्पक र भेटघाटमा छन्। पार्टीलाई समेत जानकारी नगराई बिप्लव बाबुरामलाई भेट्न गएको र भेटपछि आउने अभिव्यक्ति पनि पार्टी नीतिविपरीत हुने गरेको भन्दै नेकपा–माओवादीमा विवाद सिर्जना गराएको छ। त्यसैगरी एमाओवादीमा पनि बाबुरामले बिप्लवलाई उपयोग गरेर अध्यक्ष प्रचण्डलाई कमजोर बनाउन खोजेको शंका गरेका छन्। त्यसो त, दुवै माओवादीले बिप्लवले बाबुराममार्फत् भारतीयहरुसँग सम्बन्ध जोड्न खोजेको भन्नेमा चाहिँ समान बुझाइ छ। यो कुरा एमाओवादीको प्रचण्ड समर्थक मानिने एक अनलाइनले उल्लेख गरिसकेको छ।


केही दिनपहिला गुपचुप रुपमा बिप्लव प्रधानमन्त्री भट्टराईसँगको भेटघाटका लागि बालुवाटार छिरेका थिए। साँझतिर बालुवाटार छिरेका बिप्लव र प्रधानमन्त्री भट्टराईबीच के विषयमा छलफल भयो भन्नेबारेमा अहिलेसम्म सार्वजनिक भएको छैन। तर, नेकपा–माओवादीमा भने विप्लवको उक्त भेटघाटले विवाद र आशंका दुवै निम्त्याएको छ। नेकपा–माओवादी स्रोतका अनुसार बिप्लवले भारतीयहरुसँग नजिक बन्नलाई बाबुराममार्फत् बाटो खोजेको शंकाको रुपमा हेरिएको छ। आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै नेकपा–माओवादीका एक पोलिटव्युरो सदस्यले कुरा गर्दै बिप्लवको बाबुरामसँगको रहस्यमय भेटघाट र त्यसपछि बिप्लवले भट्टराई सरकारको बचाउको पक्षमा सार्वजनिक अभिव्यक्ति दिन थालेकाले शंकाको वातावरण सिर्जना भएको बताए।
उनले पुस २५ भन्दा अगाडि बस्ने पोलिटव्युरो वैठकमा बाबुराम र विप्लव सम्बन्धको विषयलाई गम्भीर रुपमा उठाउन लागिएको बताए। बिप्लवको उक्त कार्यक्रम अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा पनि सन्तुष्ट नरहेको पनि ती पोलिटव्युरो सदस्यको भनाइ छ। उनका अनुसार कहिले गोप्य रुपमा चीन भ्रमणमा निस्कने कहिले भारत भ्रमणमा निस्कने अनि कहिले विवादास्पद व्यक्तिलाई गुपचुप रुपमा भेटघाट गरेर पार्टीलाई शंकाको घेरामा मुछेका छन्। नेकपा–माओवादीका नेताका अनुसार बिप्लवले भारतीय सत्ता पक्षसँग राजनीतिक सम्बन्ध विस्तार गर्न खोजेको हुन सक्ने बुझाइ पनि पार्टीभित्र छ। चीन भ्रमणबाट फर्किए लगत्तै बालुवाटारमा सुटुक्क बाबुरामलाई भेट्न जानु पनि रहस्यमय रहेको उनीहरुको भनाइ छ। तर, बिप्लवले पार्टीभित्र भने प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउन बाबुरामको सहयोगी भूमिकाका लागि छलफल गर्न गएको बताउने गरेका छन्।
त्यसो त, प्रचण्डलाई अझ कमजोर बनाउन बाबुराममार्फत् एमाओवादीमा खेल्ने रणनीति अनुसारको भेटघाट भनेर पनि व्याख्या गरिएको छ। तर, एमाओवादी निकट नेपाल एभरेष्ट न्युज डटकम अनलाइनलेबिप्लवको भारतीय खुफिया संस्थाका उच्च कर्मचारीले भेट्न भारत भ्रमण गएको भनेर समाचार प्रकाशनसमेत गरेको थियो। त्यसलगत्तै बिप्लवले अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा पुस १४ गते राष्ट्रिय स्वाधिनता र जनताको अधिकारमा प्रतिवद्धता नजनाएसम्म अब बन्ने प्रधानमन्त्रीलाई नेकपा–माओवादीले समर्थन नगर्ने भन्दै घुमाउरो पारामा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहेको संकेत गरेका छन्।

No comments: