काठमाडौं, १७ माघ
अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि चिनियाँ राजदुत योङ होउ लानबीच भेटवार्ता भएको छ । भेटघाट बुधबार बिहान अर्थमन्त्रालयमा भएको हो ।
चिनियाँ राजदुत होउलानले अर्थमन्त्रीसँग विदाई भेट गर्नु भएको हो । राजदुत होउलान आफ्नो कार्यकालको बीचमै केही दिनपछि चिन फर्कदै हुनुहुन्छ ।
भेटमा अर्थमन्त्री पुनले चीन र नेपालको सम्बन्ध अत्यन्त सुमधुर भएको बताउनुहुँदै होउलानको कार्यकालमा थप सुदृढ भएको बताउनुभयो । ‘नेपाल र चीनको सम्बन्ध निकै राम्रो छ’, उहाँले भन्नुभयो, ‘तपाईंको कार्यकालमा झन् सुदृढ भएको छ ।’
अर्थमन्त्री पुनले चीनले नेपाललाई गर्दै आएको सहयोग निकै महत्वपूर्ण भएको बताउनुहुँदै थप सहयोग हुने आशा गर्नु भयो । खासामा बन्दै गरेको बन्दरगाहा, रसुवागढीमा बनाउन तयारी भईरहेको बन्दरगाहा, काठमाडौंको रिङ रोड विस्तारमा चिनको सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।
भेटमा राजदुत होउलानले नेपालको आफ्नो कार्यकाल राम्रो भएको बताउनुभयो । ‘प्राकृतिक रुपमा निकै सुन्दर देशमा बस्न पाएँ’, उहाँले भन्नुभयो, ‘यहाँको कार्यकाल अविस्मरणीय छ ।’ उहाँले चीनले नेपाललाई गर्दै आईरहेको सहयोग जारी राख्ने बताउनुभयो ।
No comments:
Post a Comment