‘म प्रहरी सेवामा प्रवेश गर्दा प्रहरी अस्पतालको अवस्था सामान्य हेल्थपोष्टकै जस्तो थियो । प्रहरी भर्नामा उमेदवारको स्वास्थ्य परिक्षणका लागि मात्रै अस्पतालको स्थापना गर्न खोजीएजस्तो लाग्थ्यो । विरामी भर्ना पनि नहुने र सामान्य विरामी पनि टेकु र आर्मी अस्पतालमा रिफर गर्ने गरिन्थ्यो । तर, त्यही अस्पताल अहिले सुविधा सम्पन्न र सेन्ट्रल लेभलमा उभिन पुगेको छ,’ नेपाल प्रहरी अस्पतालका प्रमुख एआईजी डा. रामनाथ सिंहले भन्नुभयो ‘न्यूरो र कार्डीयोलोजी सेवा बाहेक हामीले सबै सेवा दिइरहेका छौं । प्रहरी अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पतालकै हाराहारीमा पु¥याउने लक्ष्य राखिएको छ ।’ भिजीटर डाक्टरको सहयोगमा महंगो उपचार पद्धती मानिने ‘डायोलोसिस’ किड्नी सम्वन्धी उपचार पनि प्रहरी अस्पतालले उपलब्ध गराउँदै आएको डा. सिंहले जानकारी गराउनु भयो ।
तीन दशक अघि तत्कालिन महानिरीक्षक खडकजित बरालले अस्पतालको स्वीकृती गराएका हुन् भने उनी पछिका महानिरीक्षक डिवी लामाले तत्कालिन विरेन्द्र प्रहरी अस्पतालको समुद्घाटन गरेका हुन् । तीन दशकको अवधिमा पनि कछुवाकै गतिमा रहेको प्रहरी अस्पताललाई खरायोको गति दिलाउन अस्पतालको नेतृत्व सम्हाल्दै गरेका एआईजी डा. रामनाथ सिंह लागि परेका छन् ।
नेपाल प्रहरी अस्पतालको नेतृत्व सम्हालीरहेका डा. रामनाथ सिंह अस्पतालको सेवालाई गुणस्तरिय एवम् भरपर्दाे तुल्याउन तल्लीन मात्रै छैनन्, मेडीकल कलेजको स्वरुप तयार गर्न समेत लागि परेका छन् । हाल एक सय पचास बेड रहेको प्रहरी अस्पताललाई तीन सय बेडको बनाएर मेडीकल कलेजको स्वरुप दिन लागि परेका डा. सिंह भन्छन्, ‘गरेको काम राम्रो र दिगो रहनु पर्छ ।’
‘२०६४ मै मेडीकल कलेजको अवधारणा स्वीकृत भएको र त्यसैबेला राजपत्रमा समेत निस्केको अवस्थामा पनि हाम्रै अवधारणालाई पछ्याएर नेपाली सेनाले मेडीकल कलेज सञ्चालनमा ल्याइसक्यो, तर हाम्रो अवधारणा जहाँको त्यहीँ रहन पुग्यो,’ एआईजी डा. सिंहले भने, ‘प्रहरी अस्पताललाई सुविधा सम्पन्न मात्र नभएर आफूमा आफैं सस्टेन्स भएको हेर्ने इच्छा छ ।’ उनका अनुसार विरामी र रोगीले अस्पतालबाट पाउन सक्नेसम्मको सुविधा पाइरहेका छन् । ‘सरकारी मध्येको कान्ती, शिक्षण, बीर र आर्मी अस्पतालले दिए बराबरको सुविधा र सेवा हाम्रो अस्पतालले पनि दिइरहेको छ ।’
अस्पतालको विगतदेखि वर्तमानसम्मको स्मरण गर्दै उनले भने, ‘बल्ल अहिले सेन्ट्रल लेवलको अस्पतालजस्तो बन्न पुगेको छ, यसमा गर्व लाग्छ ।’ सरकारी अस्पतालले जहिले पनि सरकारकै मुख ताकेर बस्दा प्रगति उन्मुख हुन नसकेको उनको तर्क छ । अस्पतालले आफ्नो हर आवश्यकता आफैँ पूरा गरोस्, आफैँ सस्टेन्स होस् भन्ने आफ्नो चाहाना रहेको पनि डा. सिंहले बताउनु भयो । ‘मेडीकल कलेज भएपछि विद्यार्थीबाट प्राप्त हुने अध्यायापन खर्च र बाहिरबाट आउने विरामी तथा रोगीको उपचार आम्दानीले पनि अस्पताल सहजै रन हुन सक्छ,’ एआईजी डा. सिंहले बताउनु भयो ।
प्रहरी अस्पतालले आफ्नो जन्म दिवसको अवसर पारेर आगामी चैत्र २७ गते सिटी स्क्यान सेवा, आईसीयूलगायतका सेवा सुरु गर्न लागेको डा. सिंहले जानकारी गराए । यसअवधिसम्म आईपुग्दा आईसीयू सेवा बारे कसैले पनि चासो नराख्नुको पछाडि कमिशनकै चक्कर रहेको उक्त अस्पताललाई नजिकबाट बुझ्नेहरु बताउँछन् । आईसीयूमै उपचार गराउनु पर्ने विरामी प्रहरीको सदस्य भए अन्य अस्पतालमा उपचारका लागि रिफर गर्नु पर्दाको खर्च अस्पतालले नै बेहोर्नु पर्दा ठूलो रकम बाहिरीएको डा. सिंहले स्वीकार्नु भयो । ‘अन्य अस्पतालमा आईसीयूमा विरामीको उपचार गराउँदा ठूलो खर्च अस्पतालले थेग्नु पर्ने भएकाले त्यो खर्च रोक्न हाम्रै अस्पतालमा आईसीयू सेवा विस्तारका लागि सक्रियता जनाएको हुँ,’ डा. सिंहले बताए । उनले शल्यक्रिया विना गरिने लीथो ट्रिप्सी प्रविधि र त्यस्तै अर्काे आधुनिक प्रवृति ‘पीसीएनएल’ सेवा पनि आउँदो चैत्र २७ देखि विरामीले पाउने जानकारी दिए । ‘अस्पतालको जन्मोत्सवको उपलक्ष्य पारेर ती सेवा उपलब्ध हुने छन्, र प्रहरी प्रमुखलाई नै समुद्घाटनका लागि निम्त्याइने छ’, एआईजी डा. रामनाथ सिंहले बताए ।
चिकित्सक भए पनि प्रहरीको सदस्यका रुपमा आफूलाई चिनाउन चाहान्छन्, प्रहरी अस्पताल प्रमुख एआईजी डा. रामनाथ सिंह । ‘सक्रिय जिवन प्रहरीकै चिकित्सकका रुपमा बिताएँ, कयौं प्रहरीका सदस्य र उनीहरुका परिवारजनको उपचारमा सक्रिय रहँे, त्यसैले पनि म चिकित्सक भए पनि आफूलाई प्रहरी नै भन्न रुचाउँछु,’ एआईजी डा. सिंहले थपे, ‘यसैले पनि भोली रिटायर्ड लाईफपछि पनि यही अस्पतालको उन्नती प्रगतिमै ध्यान केन्द्रीत गर्नेछु ।’ आफ्नो लक्ष्य प्रहरी अस्पतालको सेवा अन्तर्राष्ट्रिय मापदण्ड (आईएसओ) अनुसारको तुल्याउने रहेको जनाए ।
चिकित्सकमा पनि सर्जन विशेषज्ञ भएकाले उनी दिनहुँ रोगी तथा विरामीका शरिरको चिरफारमै व्यस्त रहन्छन् । ‘शल्य चिकित्सक केही बढी रिसाहा हुन्छन् रे नि !’ प्रश्न भूइँमा खस्न नपाउँदै डा. सिंहले जवाफ फर्काए, ‘सबैले त्यसै भन्छन्, तर मलाई त्यस्तो लाग्दैन । बरु हाँसीमजाक नै गर्न मन लाग्छ ।’ ‘रिसाउँदै नरिसाउने त होइन है !’ उनले थपे, ‘शल्यक्रिया गरिरहँदा टिममा सहभागी मध्ये कसैले भनेअनुसार गर्न सकेन र गल्ती गरेको खण्डमा भने झनक्कै रिसाउँछु, तर तत्कालका लागि ।’ कसैमाथि पनि रिस साँचेर नराखेको उनको दावी छ ।
सर्जन विशेषज्ञ भएकाले पनि प्रहरी अस्पतालमा आवश्यक पूर्वाधार नहुँदा यदाकदा मन खिन्न हुने गरेको उनी बताउँछन् । ‘म इन्स्पेक्टरका रुपमा प्रहरी सेवामा प्रवेश गर्दा सानो अप्रेशन गर्ने पूर्वाधार पनि थिएन, तर विस्तारै सर्जरीको पूर्वाधार पूरा गराउन सकेँ,’ एआईजी डा. सिंहले थपे, ‘प्रहरी अस्पतालको सर्जरी अहिले आएर राम्रै मानिन्छ ।’ अधिकांश सर्जरीका लागि आईसीयू कक्ष आवश्यक नपर्ने तर, जोसुकै सर्जनले आफूले चिरफार गर्ने विरामीलाई निको पार्ने लक्ष्य राखेको हुन्छ, त्यसैले पनि आईसीयू सेवा विस्तारका लागि आफूले पहल गरेको उनको भनाइँ छ ।
प्रहरी सेवामा प्रवेश गर्नु अघि डा. रामनाथले स्वास्थ्य मन्त्रालयमा पनि दुई वर्ष अस्थायी स्वास्थ्यकर्मीका रुपमा अनुभव लिइसकेका थिए । स्वास्थ्य मन्त्रालयमा कार्यरत रहेका बखत डा. रामनाथ सिंहले देशका प्रायःजसो जिल्लाको पनि अनकन्टार ठाउँमा गएर त्यहाँका बासीन्दाको स्वास्थ्य परिक्षण गर्नुका साथै रोगको निदानका लागि समेत उल्लेखनिय भूमिका खेलेका थिए । देशको सुगम तथा दुर्गम क्षेत्रवासीका अनेकौँ स्वास्थ्य समस्या बारे अनुभव सँगालेका डा. रामनाथ सिंहले अहिले प्रहरी अस्पतालको नेतृत्व कुशलताका साथ सम्हालीरहेका छन् । कञ्जुसाइँ नगरीकनै भन्नु पर्दा उनले प्रहरी अस्पतालको नेतृत्व सम्हालेदेखि अस्पतालको स्वरुपमै परिवर्तन आएको छ भने उपचारार्थ आएका विरामी र रोगी समेत सन्तुष्ट बनेको भेटिन्छ । अस्पतालको सेवा र सुविधा बारे राखेको जिंज्ञासा पूरा गर्दै एआईजी डा. सिंहले भने, ‘हामीसँग भन्दा पनि उपचार गराइरहेकाहरुसँग वेडमै गएर सोध्नु भए हुन्थ्यो ।’ उनको आशयले पनि प्रहरी अस्पतालमा निकै सुधार आएको प्रष्ट्याउँछ ।
‘प्रहरी सेवामा रहँदा होस् या भोली अवकाश जिवन बिताउनु पर्दा होस्, हामी विरामी परेपछि आउने ठाउँ यही हो, त्यस कारण पनि प्रहरी अस्पताल सुविधा सम्पन्न होस्, सेवाग्राही सन्तुष्ट होउन भन्ने पक्कै पनि हामी सबैको चाहाना हुन्छ,’ आमाको उपचारका लागि प्रहरी अस्पतालमा भेटीएका डीएसपी प्रकाश अधिकारीले भने, ‘अस्पतालमा निकै सुधार आएको पाएँ ।’ त्यस्तै उपचारार्थ आएका बाराका पूर्व प्रहरी हवलदारले पनि अस्पतालको सेवा प्रति खुसी नै व्यक्त गरे ।
अस्पतालको सेवा र अवस्थाको सुधारका लागि विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म एआईजी सिंह आफ्नो कार्यकक्षमा बसेर नभई अस्पताल परिसरमै ‘वाचडग’को भूमिकामा भेटीन्छन् । कहिले इन्स्पेक्टरको कार्यकक्षमा भेटीन्छन् उनी, त कहिले डीएसपीको कार्यकक्षमा । कहिले रोगी तथा विरामीको धारणा बुझिरहेको अवस्थामा देखिन्छन् उनी । त्यसैले होला प्रहरी अस्पतालमा कार्यरत प्रविधिक होस् या अप्राविधिक सबैको नजरमा डा. सिंह ‘वाहीवाही’को पात्र पनि बन्न पुगेका छन् । ‘मैले प्रहरी अस्पतालको नेतृत्व पाएपछि यहाँ सुधार आएको भन्दा पनि अरु पनि अस्पतालको सुधार गर्नु पर्छ भन्ने मान्यताका साथीहरु हुनुहुन्छ,’ एआईजी डा. सिंहले अस्पतालकै प्रशासन प्रमुख डीएसपी जगत बहादुर केसीतिर देखाउँदै थपे, ‘सैतिस महिनादेखि उहाँ यहाँ कार्यरत हुनुहुन्छ, उहाँले अस्पतालको सुधारका लागि थुप्रै परिवर्तनकारी भूमिका खेल्नु भएको छ ।’ आफूले महानिरीक्षकलाई ‘यदी डीएसपीको सरुवा हुन्छ भने त्यस्तै (जगतजस्तै) चाहिन्छ है !’ भनेको पनि कुराकानीका क्रममा खुलाउँदै एआईजी सिंहले भने, ‘पहिले भएको औषधी पनि पाइन्नथ्यो ! रोगी विरामीका थुप्रै गुनासा हुन्थे, जगतसा’पले त्यस्ता गुनासोको कायापलटै गरिदिनुभयो ।’
कुराकानीकै क्रममा साथै रहेका डीएसपी जगतबहादुर केसीले भने, ‘पहिले कार्यकक्षबाट तल झर्नै हुन्थेन, विरामीको गुनासो सुनिसाध्य हुँदैनथ्यो, तर अहिले प्रायः सन्तुष्ट छन् ।’ हक्की स्वभावका डीएसपी केसीले चिकित्सक र नर्ससँग पनि सेवा र सुविधाका सन्दर्भमा यदाकदा विवाद गर्नु परेको बताए । सरकारी अस्पतालमा ‘कामचोर’ प्रवृति हावी रहेको सन्दर्भमा त्यो रोग भने प्रहरी अस्पतालमा नरहेको त्यहाँका प्रशासन प्रमुख डीएसपी जगतबहादुर केसीको भनाइँ छ । अस्तालको समयसिमा विहान ९ देखि अपराह्न ३ बजेसम्मको भए पनि आवश्यकताअनुसार जुनसुकै बेला चिकित्सक तथा नर्स उपलब्ध हुनै पर्ने डीएसपी केसीले जानकारी दिए । ‘चिकित्सकभन्दा पनि पुलिस अवधारणा लागू हुने’ बताउँदै डीएसपी केसीले भने, ‘जस्तो एनेस्थेसीया चिकित्सक १ जना मात्रै हुनुहुन्छ, यदी उहाँ विदा बस्नु परेको खण्डमा उहाँले नै अर्काे वैकल्पीक एनेस्थेसीया चिकित्सकको व्यवस्था नगरेसम्म विदा स्वीकृत हुँदैन,’ डीएसपी केसीले जानकारी दिए ।
उनका अनुसार ७० चिकित्सक र ८० नर्स दरवन्दी रहेको प्रहरी अस्पतालमा आवश्यकताकै कारण ५ डाक्टर र २० नर्स अस्थायीरुपमा कार्यरत छन् । प्राविधिक र अप्राविधिक गरी ४ सय ४७ दरवन्दी रहेको नेपाल प्रहरी अस्पतालले साच्चिकै आफूले दिने सेवा र सुविधामा काँचुली फेर्नै लागेको हो त ? अस्पताल प्रमुख एआईजी सिंहले भन्नु भयो, ‘प्रहरी अस्पताललाई स्वतन्त्ररुपमा छाडिदियो भने निश्चितरुपमा प्रगतीपथमा लम्किन्छ ।’ प्रहरी ऐन, नियमावली, प्राविधिक नियमावलि, स्वास्थ्य सेवा नियमावलि आकर्षक हुने भएकाले अस्पतालको सुधार र विकाशका लागि त्यस्ता झण्झटीलो ऐन नियममा बाँध्न नहुने एआईजी सिंहको भनाइँ छ । ‘हामी टेक्नीसीयन हामीमाथि किन तीन–चारवटा नियमावलि आकर्षीत हुने ?’ एआईजी सिंहको सुझाव छ, ‘बरु कुन–कुन ऐन÷नियम लागू हुनु पर्ने हो, त्यो प्रष्ट तोकिदिए हुने !’
अस्पतालबाट आफूले पाएको सुविधाभन्दा पनि आफूले अस्पतालका लागि गरेको लगानीका सन्दर्भमा डा.सिंहको खुलासा थियो, ‘एउटा शल्यक्रिया गर्दा बराबरको पनि मासिक तलव सुविधा पाइँदैन ।’ उनले प्रहरी अस्पतालमा कार्यरत चिकित्सक र नर्सको अतिरिक्त आम्दानीको स्रोतका लागि अन्य सरकारी अस्पतालको जस्तो ‘पेइङ क्लिनिक’को अवधारणा पनि अघि सार्नु पर्ने बताए ।
नजिकबाट डा. रामनाथ सिंह

पर्साको जितपुर–७ मा पिता स्व.बानेश्वर प्रसाद सिंह र ममतामयी माता अनारकलीदेवी सिंहको कोखबाट जेष्ठ सुपुत्रका रूपमा वि.सं.२०१३ साल असार ३० गते धर्तीमा उदाएका रामनाथ सिंह यतीबेला प्रहरी डाक्टरका रुपमा अस्पतालकै चिरफारमा व्यस्त छन् ।
बाबु सरकारी अधिकृत भएकाले गाउँको दुःख र अभाव कहिल्यै खेप्नु नपरेका रामनाथ सिंहले बुबाको इच्छाअनुसार पढाइँ÷लेखाइँमा अब्बलै रहे, कहिल्यै कुलततिर लागेनन् । राजधानीको महेन्द्र आदर्श विद्याश्रमबाट नौ कक्षासम्मको अध्ययन पूरा गरेका उनले स्वयम्भूस्थित आनन्दकुटी विहारबाट एसएलसी उत्तीर्ण गर्नुका साथै अमृत साइन्स क्याम्पसबाट आईएस्सीसम्मको शिक्षा हासिल गरेका हुन् । ‘चिकित्सक नै हुन्छु भन्ने नै त सोचेको थिइँन तर, भइयो’ भारतको राँची मेडिकल कलेजबाट मेडीकल विषयमा स्नातक र बंगलादेशबाट मेडीकल लाइनमै स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका डा. रामनाथले बताए । एआईजी डा. सिंहले सिंगापुरबाट पनि ६ महिने चिकित्सा विषयकै अध्ययन तालिम लिएका छन् । नेपालीको विदेश मोह बढीरहेका बेला डा. रामनाथको मनमा भने कहिल्यै विदेशमोह पलाएन । उनले सहजै भने, ‘मैले खासै विदेश भ्रमण पनि गरेको छैन । भारत, बंगलादेश र सिंगापुरमा अध्ययन गरेँ, छोरी अष्टे«लियामा चिकित्सक पेशामै आवद्ध रहेकाले उनलाई भेट्न जाने क्रममा त्यहाँ पटक पटक गएको छु, र ‘अन्द वे’ पर्ने मुलुक मलेसिया, बैंकक र हङकङ पनि देखेको छु ।’
सानै उमेरमा विवाह गर्ने परम्परा अनुसार परिवारकै जोडबलले गर्दा नौ कक्षामा पढ्दापढ्दै रुपा सिंहसँग उनको वैवाहिक सम्बन्ध गाँसिन पुग्यो । उनीहरुका दुई पुत्र राज सिंह र राजिव सिंह तथा एक पुत्री डा. ऋचा सिंह छन् । पाँच परिवारको सुखी जीवन बिताइरहेका अतिरिक्त प्रहरी महानिरीक्षक रामनाथ सिंहले २०४३ साल श्रावण २८ गते प्राविधिक प्रहरी निरीक्षकको पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्राविधिक भएकाले अझै डेढ वर्ष उनको प्रहरीमा सेवा अवधि बाँकी नै छ । ‘त्यसपछि पनि मेरो चिकित्सा क्षेत्र भएकाले अवकाश लाईफ भन्ने नै हुन्न’, एआईजी डा. सिंहले भने । ‘फौजी क्षेत्रमा लागेकाहरुको अवकाश जिवन नितान्त कामविहीन अवस्थामा बित्ने हुँदा तनाव हुने भए पनि ममा त्यो लागू हुँदैन’ उनले भने, ‘अहिले प्रहरी अस्पतालको प्रमुख छु, त्यसबेला भिजीटर या पार्टटाइमरका रुपमा पनि क्रियाशिल हुन सक्छु ।’
एमबीबीएस गर्दाखेरिको जस्तो सुखद क्षण आफूले जिवनको कुनै अवस्थामा अनुभव गर्न नसकेको एआईजी सिंहले बताए । त्यसैगरी डिआईजीमा बढुवा पाउन गर्नु परेको तनावको क्षणको स्मरण पनि उनको मानसपटलमा ताजै रहेको बताए पनि कारण भने खुलासा गर्न चाहेनन् । जिवनको सबैभन्दा भूल्नै नसक्ने र दुखद क्षणको अनुभव बुबालाई क्यान्सर रोगले च्यापेर स्वर्गारोहण हुँदाको बखत रहेको उनले सुनाए, ‘सहसचिवमा बढुवा भएर पनि रोगले च्यापेपछि बुबाले बढुवाको जिम्मेवारी नै निभाउन पाउनु भएन ।’
प्रहरी सेवा प्रवेशको क्षण बारे डा. रामनाथ सिंहको स्मरण यस्तो छ, ‘मलाईं प्रहरी सेवामा प्रवेश गर्न मन लाग्यो । मेरो बुबा गृह मन्त्रालयमा उपसचिव हुनुहुन्थ्यो । एक पटक बुबालाई सोध्नु प¥यो भनेर सोध्न मुख खोलेँ तर, बुबाबाट कुनै जवाफ आएन । फेरि भोली पल्ट पनि बुबाको अगाडी गएर आफ्नो इच्छा दोहो¥याएँ तर, त्यस दिन ‘सक्ने भए जा, तर आफ्नै बलबुताले । बाबुले पनि छोराको सिफारिस गर्छ ?’ भन्ने जवाफ पाएँ ।’ डा. सिंहले प्रहरी सेवा प्रवेशको झञ्झटिलो अवस्था बारे सम्झँदै भने, ‘प्रहरी इन्स्पेक्टर हुन फर्म लिएँ तर, त्यहाँ दुई जना सरकारी अधिकारीको ‘निजलाई राम्ररी चिन्दछु÷जान्दछु’ भन्ने आशयको प्रमाणित दस्तखत र सरकारी छापको आवश्यकता पर्दाै रहेछ । त्यसका लागि म सिधैं गृह मन्त्रालय जहाँ बुबा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ पुगेर जानकारी गराएको मात्रै के थिएँ, बुबा त बोल्दै बोल्नु भएन । बुबाकै सहयोगी अधिकृत श्रीकान्त रेग्मीले मबाट त्यो फर्म माग्नु भयो र आफैँले र अर्का एक अधिकृतको हस्ताक्षर गरी मलाई त्यो फर्म दिनु भयो । मैले हेडक्वाटरमा फर्म बुझाएर प्रहरी भर्ना प्रक्रियामा सामेल भएँ र छनोट पनि भएँ,’ डा. रामनाथले उक्त दिन आजै भएजस्तो गरी सम्झीए, ‘पास आउट भैसकेपछि मलाई श्रीकान्त रेग्मीजीले टुँडीखेलमा देख्नु भएछ, च्याप्प समातेर गृहमन्त्रालयमा मेरै बुबाको अगाडी लग्नुभयो र भन्नुभयो, ‘सर ! तपाईं यो इन्स्पेक्टरलाई चिन्नु हुन्छ ? मैले बनाएको इन्स्पेक्टर !’ त्यसो भन्दा बुबा खुसीले दंग पर्दै हास्नु भयो तर, बोल्नु भएन ।’
No comments:
Post a Comment