१८ पुस, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले सहमतीय सरकार गठनमा तेस्रो विकल्प खोज्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रस्ताव अस्वीकार गरेका छन् ।
दुई दलका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले एमाओवादी र कांग्रेस बाहेकको नेतृत्वमा सरकार गठनको विकल्प खोज्ने प्रधानमन्त्री भट्टराईको प्रस्ताव अस्वीकार गरेको हो । ‘तेस्रो विकल्प, दोस्रो विकल्प जे भने पनि यो सरकार टिकाइराख्ने र चुनाव नगर्ने षड्यन्त्र हो’ बैठकपछि कांग्रेस नेता गोपालमान श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो ।
बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफूसमक्ष राखेको तेस्रो विकल्पको प्रस्ताव पेश गर्नु भएको थियो । एमाओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले बुधबार बिहान मात्र नेपाललाई भेटी एमाओवादी र कांग्रेस-एमालेले एकअर्कालाई स्वीकार गर्ने अवस्था नरहेकेको भन्दै तेस्रो विकल्प खोज्न प्रस्ताव गर्नु भएको थियो ।
प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दै कांग्रेस-एमालेले एमाओवादी र सरकार बैशाखमा चुनाव नगराउने पक्षमा रहेको निष्कर्ष निकालेको छ । ‘एमाओवादी र यो सरकार बैशाखमा चुनाव गराउन चाहन्न’ कांग्रेस नेता अजुर्ननरसिंह केसीले अनलाइनखबरसँग भन्नुभयो-’वैशाखमा चुानाव हुन नदिने षड्यन्त्रविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकीकृत हुनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।’
बैठकले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गरेर चुनावमा जाने पूरानै अडानमा कायम रहने र राष्ट्रपतिले दिएको पछिल्लो समयसीमा भित्र सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ । सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय शुक्रबार सकिँदैछ ।
No comments:
Post a Comment