दोहा– कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन लिग’ अन्तर्गत गत शुक्रवारको खेलमा नेपालले मोवासलातमाथि २–० को सहज विजय हासिल गरेको छ ।
यसअघि कतार फाउण्डेशनसंग पराजित भएपछि अपराजितयात्रा रोकिएको नेपाल गत शुक्रवार भने निकै सुधारिएको थियो । दुवैसेटमा २५–११ को अन्तरले नेपाल विजयी भएको छ । गत साताको विजयसंगै नेपालको ७ अंक भएको छ । भारतले अपिराजित यात्रा कायम राख्दै ८ अंक जोडेको छ भने नेपालसंगै कतार फाउण्डेशन र कतार क्लब्स जुनियर्सको पनि ७ अंक रहेको छ । अंकतालिकामा फिलिपिन्सको ६, इजिप्टको ५ र मोवासलातको ४ र लेवननको ३ अंक रहेको छ ।
लिग अन्तर्गतका अघिल्ला खेलहरूमा नेपालले लेवनन र इजिप्टलाई पराजित गरेको थियो भने कतार फाउण्डेशनसंग पराजित भएको थियो । गत शुक्रवार दर्शकको उत्साहजन्य समर्थनकाविच नेपालले सकभर गल्ती नगरी खेलको लय पछ्यायो । शुक्रवार पनि नेपाली टोलीका विदेशी खेलाडी तथा प्रतिस्पर्धाकै उत्कृष्ट मध्येका एक स्टार हिरोशीको बलियो स्पाइक नेपाली टोलीको प्रेरणा थियो ।
११ जनवरीबाट आयोजना भएको लिग अन्तर्गत गत शुक्रवारको अर्को प्रतिस्पर्धामा भारतले फिलिपिन्सलाई २–० (२५÷१५, २५÷१४) ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ भने इजिप्टले लेवननलाई २–० (२५÷२०, २५÷१२) ले पराजित गरेको छ । शुक्रवारको अर्को रोचक प्रतिस्पर्धामा कतार जुनियर्सले कतार फाउण्डेशनलाई २–१ (२६÷२४, १९÷२५ र १५÷११) ले पराजित गरेको छ ।
लिगका टेक्निकल मेम्बर तथा कतारस्थित नेपाली समाजका अगुवा सागर नेपाल र प्रशिक्षक तथा ब्यवस्थापक बुद्व गुरुङले अवका खेलमा मेहनत र उपयुक्त रणनितिका साथ उत्रने उल्लेख गर्दै नेपालीजनको अधिकतम सहभागिता र समर्थनको अपिल गरेका छन् । गत बर्ष दोश्रो स्थान हासिल गर्न सफल रहेको नेपाल यस बर्ष पहिलो स्थानको दावेदारीमा छ । २२ फरवरीमा नेपालले दिनको ५ बजे फिलिपिन्सको टोलीसंग प्रतिस्पर्धा गर्दैछ ।
No comments:
Post a Comment