काठमाडौं, फागुन ४– चुलोचौका छुट्ट्याएपछि धुरी धुवाउँने समस्यासँग जुधिरहेको वैद्यको ड्यास माओवादी धागो चुँडिएको चंगाको हालतमा पुग्ने आँकलन सुरु भएको छ । विगतदेखि नै रामबहादुर थापाको बलियो संगठन रहेको भनेर विश्वास गरिएको ड्यास माओवादीमा पूर्वी नेपालका जिल्लाहरूमा जिल्ला कमिटी नै विघटन हुने हो कि भन्ने अवस्था सिर्जना भएपछि वैद्य माओवादीको सांगठनिक आधार समाप्त भएको प्रमाणित भएको छ । तल्लो निकायमा कुनै पनि संगठन नभएको अवस्थामा पुगेपछि अब केही महिनाभित्र वैद्य माओवादी नेताहरूको मात्रै पार्टी बन्ने भएको छ । त्यसपछि कुनै घरको कुनामा बसेर क्रान्ति भएन भनेर गनगन गर्नुबाहेक अन्य क्षमता र हैसियत नराख्ने अवस्थामा वैद्य माओवादी पुग्ने निश्चित भएको हो ।
एमाओवादी नेतृत्व विर्सजनवाद र सुधारवादको बाटोमा अग्रसर भएको आरोप लगाउँदै क्रान्तिको चर्का कुरा गर्ने वैद्य समूहले महाधिवेशनबाट कुनै नौलो र पृथक् नीति कार्यक्रम र विचार दिन नसकेपछि कार्यकर्ताहरू निराश बनेर घर फर्किएका थिए । पार्टी विभाजनपूर्व हतियारबद्ध क्रान्तिका लागि समेत आफूहरू तयार रहेको भन्दै कार्यकर्ताहरूलाई तताउने वैद्य नेताहरूले जनयुद्ध दिवसका अवसरमा क्रान्तिकारीहरूको तीर्थस्थलका रूपमा परिचित रोल्पाको थवाङमा पुगेर समेत आफूहरूले हतियार नउठाउने तर क्रान्ति चाहिँ गर्ने भन्दै विरोधाभाषपूर्ण भाषण गरेपछि ड्यास माओवादीले पनि एमाओवादीकै नीतिलाई स्वीकार गरेकाले दुईवटा पार्टी बन्नुको औचित्य नभएको भन्दै कार्यकर्ताहरूले विश्लेषण गर्न थालेका छन् ।
उता, आफूले उद्घोष गरेबमोजिमको जनविद्रोहमा जान नसकिने भएपछि पार्टीभित्रको उपद्रो र घर झगडा शान्त पार्न वैद्य माओवादीले विशेष केन्द्रीय कमान्ड नाम गरेको अलग्गै संगठन निर्माण गरेको छ । विद्रोहमा जान खुट्टा कमाएको भन्दै नेतृत्वको कडा आलोचनामा उत्रिएका नेत्रविक्रम चन्द र सोनामलाई चुप लगाउनका लागि मात्र उक्त कमान्ड गठन गरिएको हो । बादल इन्चार्ज रहेको उक्त कमान्डमा विप्लव, देव गुरुङ, सोनाम, पम्फा भुसाल, हरिभक्त कर्णेललगायतका नेता रहेका छन् ।
आफूले सोचअनुसार संगठन विस्तार हुन नसक्नु र बनेका संगठन पनि धमाधम भत्कने क्रममा रहनुको मूल कारणका रूपमा किरणले विप्लव र सोनामका साथै अन्य नेताहरूले समेत आफ्नै गुट निर्माणलाई विशेष ध्यान दिएको निष्कर्ष निकालेको उनीनिकट स्रोत बताउँछ । संगठनको अभाव विस्तारको रफ्तार शून्य भएको स्थिति आदि यथार्थलाई केलाउँदै आफूहरूबाट विद्रोहको आधार निर्माण हुन नसक्ने ठहरमा पुगेको छ । किरणले एउटा पत्रिकालाई अन्तर्वार्ता दिँदा आफूले पार्टी फुटाएर मित्रहरू गुमाएको स्वीकार्दै तर त्यसमा दुखेसो भने नभएको बताएका थिए ।
No comments:
Post a Comment