काठमाडौं, १४ फागुन
नेपालका लागि राष्ट्र संघका आवासीय प्रतिनिधि रोबर्ट पाईपरले अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’सँग विदाई भेट गर्नु भएको छ ।
उहाँले सोमबार दिउँसो अर्थमन्त्रालयमा आएर विदाई भेट गर्नु भएको हो । ‘भेरी भेटौंला, गुड वाई’, नेपाली भाषामै पाईपरले भन्नुभयो ।
पाईपरले नेपाल बसाई निकै रमाईलोकासाथ बितेको बताउनुभयो । ‘नेपाल बसाई निकै महत्वपूर्ण रह्यो, र निकै रमाईलो पनि’, उहाँले भन्नुभयो, ‘म जहाँ भए पनि नेपाललाई सम्झिरहने छु ।’
नेपालको शान्तिप्रक्रिया अगाडि बढ्नु महत्वपूर्ण भएको बताउनुहुँदै पाईपरले शान्तिप्रक्रियाको बाँकी काम छिट्टै पुरा हुनेमा आफू आशावादी भएको बताउनुभयो । उहाँले अब आफूले सेनेगलको जिम्मेवारी लिएर जान लागेको जानकारी गराउनुहुँदै भन्नुभयो, ‘म सेनेगलमा रहेर अफ्रिकाका ९ देशलाई हेर्ने छु ।’
भेटमा अर्थमन्त्री पुनले नेपालमा संयुक्त राष्ट्र संघले गरेको मुख्य काम शान्तिप्रक्रिया टुंगाउनु भएको बताउनुभयो । ‘यूएनको मुख्य काम शान्तिप्रक्रिया टुंगाउनु रह्यो,’ उहाँले भन्नुभयो, ‘सायद यूएनमा रहँदा तपाईंको मुख्य काम पनि यही भयो होला ।’
भेटमा अर्थमन्त्री पुनले प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बन्ने निश्चित भएको बताउनुहुँदै अब राजनीतिक निकास निस्कने बताउनुभयो । ‘प्रधानन्यायधीशको नेतृत्वमा सरकार बन्ने भएको छ, राम्रो सन्देश लिएर जानु हुने भयो,’, उहाँले भन्नुभयो, ‘सकभर अलि बसेर संविधान निर्माणको काम सकिएपछि फर्कदा राम्रो हुन्थ्यो ।’
उहाँले नेपालको आर्थिक अवस्था संक्रमणकालका बीचबाट पनि राम्रो भएको बताउनुभयो । ‘हामी राजनीतिक संक्रमणमै छौं यस्तो अवस्थामा पनि आर्थिक अवस्था राम्रो भएको मान्नुपर्छ,’ उहाँको भनाई थियो ।
No comments:
Post a Comment