खाडी न्युज सम्बाददाता
कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य लिएको कलाकारहरुको विश्वब्यापि संजाल अन्तराष्ट्रिय नेपाली कलाकार समाजले कलाकारहरुको औषधी उपचार र आपतकालीन अवस्थामा सहयोग गर्ने भएको छ । यो कुराको जानकारी आज समाजले आफ्नो फेस बुक मार्फत सूचना प्रकाशित गरेर सार्वजनिक गरेको हो ।
नेपाली लेखक तथा कलाकारहरुको स्वास्थ्योपचार र आपतकालीन अवस्थामा राहत पूर्याउन सकियोस भन्ने उद्देश्यले कलाकार कल्याणकारी कोष (Artist Welfare Fund) तर्जुमा गरी कार्यान्वयनमा ल्याएको र यहि १४ अप्रिल २०१३ का दिन जर्मनीमा हुन गैरहेको बिशाल कार्यक्रम बीच यस कोषलाई विधिवतरुपमा सार्वजनिक गरिने कुरा उक्त संस्थाले जनाएको छ । 'कुनै पनि नेपाली लेखक तथा कलाकारहरुले असहाय जीवन बिताउनु नपरोस र आर्थिक विपन्न भएकै कारण सामान्य उपचार गर्न नसकी कुनै पनि लेखक तथा कलाकारले जीवन गुमाउनु नपरोस् भन्ने हाम्रो मूख्य संस्थागत उद्देश्य अन्तर्गत यो कोष खडा गरिएको हो । हाम्रो यो पहललाई ज्यादैनै साकारात्मक रुपमा लिदै यस कार्यका लागि धेरै स्वदेशी तथा बिदेशी सहयोगी मनहरुले साथ दिनुभएको छ र यो क्रम बढ्दो छ ।' समाजले सूचनामा उल्लेख गरेको छ ।
'अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) तपाईंहरुका लागि स्थापित भएको संस्था हो र नेपाली भाषा कला र संस्कृतिको जगेर्ना गर्ने कार्यको साथसाथै यो संस्था तपाईंहरुको हितको लागि सधैं कृयाशील रहदै आएकोछ ।' विश्वभरी रहेका नेपाली कलाकारहरुलाई सम्बोधन गर्दै सूचनामा भनिएको छ 'आर्थिक अवस्थाको आधारमा यस कोषबाट हामी तपाईंहरु सबैलाई एकैपटक सेवा पूर्याउन नसकौंला तर हामी "कलाकार कल्याणकारी कोष संचालन तथा व्यबस्थापना निर्देशिका २०१३" को अधिनमा रहेर प्रत्येक वर्ष सेवामा केही वृद्धि गर्दै लान सधैं प्रयत्न गर्छौं । यो संस्था तपाईंहरु सबै लेखक र कलाकारहरुको साझा संस्था हो, त्यसैले हामी तपाईंहरु सबैबाट आवश्यक सल्लाह तथा सुझावको सधैं अपेक्षा राख्छौ।' नेपाली लेखक र कलाकारहरुलाई सम्बोधन गर्दै सूचनामा भनिएको छ ।
अन्तराष्ट्रिय कलाकार समाजको यो घोषणा पछि नेपाली लेखक कलाकारहरुमा निकै खुशी देखिएको छ । हाल अमेरिकामा रहेकी गायिका मिरा राणाले अन्तराष्ट्रिय नेपाली कलाकार समाजको यो कामलाई ज्यादैनै प्रसंनीय र हितकारी काम हो भनेर प्रसंसा गरेकी छिन् । कुनै पनि नेपाली लेखक र कलाकारले असहाय जीबन भोग्नु नपरोस र गरीब भएकोले सामान्य उपचार गर्न नसकेर कुनै पनि लेखक र कलाकारले जीवन गुमाउनु नपरोस भन्ने यो संस्थाको भनाई सुन्दा आफ्नो आँखामा हर्षले आँसु भरिएर आएको कुरा सुनाइन । यो संस्थाले साँच्चैनै कलाकारहरुको लागि काम गरेको आफूले देखेको उनले भनाई छ । त्यस्तै चलचित्र निर्माता राजेश घतानीले यस कार्यलाई हालसम्मकै सबै भन्दा ठुलो काम भनेर प्रसंसा गरेका छन । सरकारले गर्नु पर्ने काम हो तर गरेन तर एउटा संस्थाले नेपाली कलाकारहरुको बारेमा यत्रो चिन्ता राखेर काम गर्नु भनेको अतिनै ठुलो कुरा हो । त्यसैले अन्तराष्ट्रिय कलाकार समाजलाई हामी सबै कलाकारहरुका तर्फबाट हामी धन्यवाद भन्न चाहन्छौं । घतानीले हर्षित हुँदै भने । त्यस्तै कलाकारहरुको लागि खडा गरिएको यस कोषको नेपाल र प्रवासमा रहेका सबै कलाकारहरुले खुलेर प्रसंसा गरेका छन र यो संस्थालाई धन्यवाद पनि दिएका छन । उनीहरुले सबै कलाकारहरुका लागि अन्तराष्ट्रिय नेपाली कलाकार समाज देउता जत्तिकै भएर आएकोले अब भने सबैमा आशा पलाएको प्रतिकृया दिएका छन्।
No comments:
Post a Comment