चितवन । एकाबिहानै गामबेसीको चेपाङ संरक्षण केन्द्रको आवास गृहमा सबै बालबालिकाहरु फागु पुर्णिमाको रौनकतामा प्रफुल्ल मुद्रामा थिए । कोहि आफ्नो आवास गृहको आँगन परिसरमा पानी छम्किदै थिए भने कोहि खरेटोले आँगन बढार्ने क्रममा मस्त थिए । उता १२ बर्षीय जीवन चेपाङ भने परापूर्वकाल देखि आफ्ना पूर्वजहरुले शिकारको लागि प्रयोग गरिने धनुकाँण बनाउनको लागि बाँस ताछ्नमा निमग्न थिए । उनका बुवा, बाजे, जीजुबाजेहरुले उक्त धनुकाँडबाट कालिज, तथा अन्य चराहरुमात्र होइन खोलामा माछा मार्नलाई पनि धनुकाँड प्रयोग गर्ने गरेको नयाँ किस्सा पनि उनले सुनाउन भ्याए ।
यता हालै मात्र गामबेसीको चेपाङ संरक्षण केन्द्रको आवास घरले भने अर्कै काँचुली फेरेको रहेछ । घरको माथिल्लो चोटाको पालीको देब्रे कुईनेटो देखि दाहिने कुइनेटो सम्म दुई तह गरेर चेपाङ डालो, धनुबाण, हलो, टाँकीको टाटा, नाङ्लो, फुर्लुङ, मोहोला, गिठा, भ्याकुर खन्ने फलामको सुइरो, प्लास्टिकको जाबी, पेरुंगो, माछा मार्ने जाल, सिस्नु फिट्ने फिर्की, सिस्नु टिप्ने बाँसको चिम्टा, भोर्लाको जाली, भोर्लाको जाबी, पाङ्दुर, लालटीन, सानो धनुकाँड, भोर्लाको पात, प्याज, ढकी, सिस्नु, ढडिया, भक्याम्लो, डोको, लसुन, चरा मार्ने लिसो, माछा मार्ने सिप्रिङ, नयाँ फुर्लङ, ठूलो पेरुंगो, फाम, हर्पे, चिण्डो, चमेरा पक्डने जाल, चमेराको टाँगो, गिठा, भ्याकुर, कोदोको पिठो, भोर्लाको टाटा, हर्रोको दाना, बर्रोको दाना, मौरीको काठे घार, भोर्लाको डसना, चेपाङ गुन्द्री, ठेकी, चेपाङ मुरली, चेपाङ सारंगीले उनीहरुको जीवन यापनका लागि प्रयोग गर्ने साधनहरुको बारेमा जानकारी दिलाउनुको साथै उनीहरुको सांस्कृतिक परिचय छर्लंग संग स्पष्ट पारेको थियो । निजी तवरमा खोलिएको चेपाङ म्युजियम नेपालकै पहिलो चेपाङ म्युजियम भएको अध्यक्ष शर्मा दावाका साथ बताउँछन् । सरकारी तवरमा चितवनको शक्तिखोरमा खोलिएको चेपाङ संग्रहालयमा पनि यति सामान यथेष्ट नभएको हुनाले यसलाई अझ बृहत्तर र ब्यवस्थित रुपमा निकट भविष्यमा नै तयार गरी प्रदर्शनमा ल्याइने कुरा पनि उनले बताए ।
यता भने चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा भने ठूलो भाँडोमा अबीर, पहेँलो केशरी तथा नीलो रंग खन्याएर चेपाङ बालबालिकाहरुलाई रंग्याउन र रंग तयार गर्न निमग्न थिए भने उनका वरिपरि साना साना बालबालिकाहरु झुम्मिएर उक्त रमाईलो क्षणको प्रतिक्षामा प्रतिक्षित थिए । एक जोली छात्रा टोलीहरु भने बिहानको खानाको तयारीका लागि भात पकाउन र तरकारी पकाउन जोडका तोड संग जुटिरहेको दृश्य अर्को मनोहारी पक्ष थियो ।
छोटो खुट्टा भएकी अपांग सुमित्रा चेपाङलाई पनि होलीको रौनकताले मचक्क छोएको उनको मुखमुद्राले प्रकट गरिरहेको थियो । समग्रमा त्यहाँको दृश्यले बडा पर्व दशैँ नै मनाउने भब्य तयारीले खुशी छाएको जस्तै सबैको चेहरामा प्रतीत हुन्थ्यो । फागु लगाउने तयारी भएको जानकारी दिएपछि उनीहरु पंक्तिबद्ध रुपमा तयारी भए । त्यो दृश्यले यस्तो लाग्थ्यो कि दशैँको छुट्टीमा घर जना नपाएका नेपाली सेनाका जवानहरु पल्टने रवाफको साथ करसाहेब र जरसाहेबको हातबाट टिका थाप्न ब्यारेकमा प्रतिक्षित भएको आभाष दिलाईरहेको थियो ।
अध्यक्ष केपी किरणबाट सबै बालबालिकाहरुलाई पालैपालो रंगहरु अनुहारमा दलिदिने क्रमको समाप्ती पछि चेपाङ बालबालिकाहरु पनि के कम, उनीहरुले पनि शर्मालाई समातेर राताम्ये, निलाम्ये र पहेँल्याम्म बनाएर खुशी मनाउँदै थपडी बजाउँदै उफ्रि रहेका थिए ।
पहाड घरमा हुँदा त खोरिया र बाख्रा चराउँदै चाड पर्व निखिन्थ्यो, यसरी भब्य रमाइलोको साथ फागु खेलेको जीवनमा पहिलो पटक हो, आफ्नो पूर्व स्मृतिको स्मरण गर्दै जमुना चेपाङले खुशी हुँदै बताईन् ।
२८ जना चेपाङ छात्रछात्रा आश्रित उक्त आश्रममा त्यसपछि आफ ुआफु नै मुठीका मुठी रंग मुठ्याउँदै एक अर्कामा रंग दल्न भागदौड गर्न थालेको अर्को दृश्य झन् अति रोमाञ्चक र मनोहारी बनेको थियो । चिच्याउँदै र भाग्दै रंग दल्नेको झुण्डमा छोटो खुट्टा भएकी अपांग सुमित्रा पनि आफ्नो अपांगतालाई भुसुक्क बिर्सिदै उनी पनि जेनतेन खुत्रुक खुत्रुक गर्दै आफ्ना एकाघरको संगीनी र भाई हरुलाई रंग दल्न रमाउँदै दौडिरहेकी थिईन् ।
होली पर्व मनाउने बहानामा मादक पदार्थ सेवन गरी अरुको स्वीकृति बिनानै बल जफ्ती गरी रंग दल्ने क्रममा समूह समूह बीच झडप हुने र मोटरसाईकल दुर्घटना भई घाइते लगायत ज्यान गुमाउन पुगिरहेको कारणले सुखद पर्व होली दुखद स्थितीमा परिणत हुन पुगेको अवस्थामा उनीहरु भने आफ्नो आश्रम परिसर भन्दा बाहिर होली खेल्न नजाने रे ।
No comments:
Post a Comment