काठमाडौं, चैत ६-नेकपा एमालेका तर्फबाट लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन लागिएकोमा कांग्रेस-एमाले र स्वयं माओवादीभित्र तीब्र असन्तुष्टि देखिएको छ ।
एमालेका १२ जना केन्द्रीय सदस्यले सोमबार कार्कीलाई आयोगको प्रमुख नबनाउन माग गर्दै पार्टी अध्यक्ष झलनाथ खनाललाई ज्ञापनपत्र बुझाएका छन् । युवा नेता घनश्याम भुसाल, योगेश भट्टराईसहितका नेताहरुले खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापपत्र बुझ्दै अध्यक्ष खनालले यसबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गर्ने बताएका छन् ।
१२ जनाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘न्यूनतम लोकतान्त्रिक मूल्यमाथि भएको यस्तो अनैतिक हस्तक्षेपमा उच्चस्तरीय राजनीतिक सदस्यका हिसाबले हाम्रो पार्टीको सहमति हुनुहुँदैन भन्ने कुरामा जोड दिँदै यस्तो निर्णय हुनबाट रोक्न माग गर्छौं ।’
यसैगरी, एमाओवादी र कांग्रेसका नेताहरूले पनि वक्तव्य जारी गरी निर्णय फिर्ता लिन आ- आफ्ना नेतृत्वलाई दबाब दिएका छन् । संवैधानिक निकायहरूमा रिक्त पदाधिकारी नियुक्तिका लागि सहमति गर्दा एमाओवादी र मोर्चाको प्रस्तावमा चार दलका शीर्ष नेताको बैठकले कार्कीलाई नियुक्ति गर्न सरकारलाई सिफारिस गरेको हो ।
राष्ट्रपतिले कार्कीको सिफारिस भएमा सरकारलाई पुनर्विचार गर्न आग्रह गर्ने तयारी गरेको स्रोतले जनाएको छ । अख्तियारद्वारा भविष्यमा सरकारी सेवामा अयोग्य घोषित र जनआन्दोलन ०६२/६३ मा सर्वसाधारणलाई दमन गर्न प्रमुख भूमिका निर्वाह गरेका कारण कार्कीलाई नियुक्ति नगर्न यादवले प्रस्ताव फिर्ता पठाउने मनस्थिति बनाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
को हुन् कार्की ?
शाहीकालमा सचिव रहेका कार्की जनआन्दोलनविरोधी हुन् । एकीकृत माओवादीको कोटामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाइन लागेका हुन् । देशमा गणतन्त्र स्थापना भएपछि कार्की माओवादीमा प्रवेश गरेका थिए । उनले २०६२-०६३ को जनआन्दोलनलाई दमन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । शान्तिपूर्ण जनआन्दोलनका क्रममा सत्ता, शक्ति र पद दुरुपयोग गरी दमनमा सक्रिय रहेको भन्दै कार्कीलाई पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित उच्चस्तरीय जाचबुझ आयोगले दोषी ठहर्याई सेवाबाट हटाउन र भविष्यमा सरकारी पदको जिम्मेवारी नदिने गरी नेपाल सरकारलाई अभिलेख राख्न निर्देशन दिएको थियो ।
No comments:
Post a Comment