ढाका, फागुन २० - बङ्गलादेशमा स्वतन्त्रताकालीन अपराधको आरोपमा एक मुस्लिम समर्थक राजनीतिक दलका नेताहरूलाई मृत्युदण्डको सजाय सुनाइएबाट भड्किएको हिंसा आइतबार पनि जारी रहेको समाचार छन्। सुरक्षाको लागि सैनिक तैनाथ रहेको देशको उत्तरी भागमा आइतबार पनि जारी रहेको यस हिंसामा पुनः १६ व्यक्तिको मृत्यु भएको छ।राजधानी ढाकालगायतका विभिन्न स्थानमा भएका प्रदर्शन हिंसात्मक बन्दा ५३ व्यक्तिको बिहीबार र शुक्रबारनै ज्यान गइसकेको थियो। अरु सयौं घाइते पनि भएका छन्।बङ्गलादेशको युद्ध अपराधसम्बन्धी दण्ड सजायका लागि गठन गरिएको अदालतले बिहीबार जमात-ए-इस्लामी नामको बङ्गलादेशको सबैभन्दा ठूलो मुस्लिम दलका उपाध्यक्ष दिलवर हुसेन सयीदलाई मृत्युदण्डको सजाय सुनाएको थियो।सो समाचारपछि देशमा झन् ठूलो हिंसा मच्चिएको बताइएको छ। सो समाचार पछि बिहीबार र शुक्रबार त्यहाँ यसअघिको तुलनामा धेरै मात्रामा हिंसात्मक प्रदर्शन भएको र आइतबार पनि जारी रहेको छ । प्रदर्शनका सो दलका कार्यकर्ताहरू नै बढी मात्रामा सडकमा उत्रिएका छन्। तर जो जसलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ उनीहरूलाई मृत्युदण्ड नै दिनुपर्ने माग गर्दै अरु सर्वसाधारणले पनि प्रदर्शनलाई जारी नै राखेका छन्।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुनका लागि वर्तमान बङ्गलादेशले ठूलो क्रान्ति गरेको थियो। सो स्वतन्त्रता सङ्ग्रामका समयमा पाकिस्तान र यसका समर्थकहरूले हालका बङ्गलादेशीहरूलाई व्यापक मात्रामा दमन गरेका थिए।
सो समयमा युद्धअपराध भएको भनी त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग विगत निकै लामो समयदेखि नै भइ आएको हो। सोही मागको सम्बोधन गर्दै सन् २०१० मा उक्त अदालतको स्थापना पनि गरिएको होे।सोही अदालतले सयीदमाथि मृत्युदण्डको सजाय सुनाएको थियो। यसरी सो सजाय पाउने उनी तेस्रो व्यक्ति हुन्। यसअघि पनि सोही दलका अरु तीन जनालाई मृत्युदण्डकै सजाय सुनाइएको थियो।सयीदलाई युद्ध अपराध अदालतले हत्या, आगजनी, बलात्कार तथा हिन्दूलाई बलपूर्वक इस्लाम बनाएका आठवटा अभियोगमा दोषी प्रमाणित गरेको छ। उनलाई झुण्ड्याएर मृत्युदण्ड दिन पनि आदेश दिइएको छ।यस विषयमा जनवरी २१ मा नै सो अदालतले पहिलो निर्णय सुनाएको थियो। त्यसपछि सो निर्णयको विरुद्धमा राजधानी ढाका र देशका विभिन्न भागहरूमा प्रदर्शन भएका छन्। सोही प्रदर्शनका कारण आइतबारसम्ममा ७२ व्यक्तिको मृत्यु भइसकेको छ।
सो निर्णयको विरोधमा प्रहरी तथा इस्लामी प्रदर्शनकारीबीच भएको भिडन्तमा प्रायः प्रहरीले चलाएको गोलीबाट व्यक्तिको मृत्यु भएको बताइएको छ। प्रहरी अधिकारीहरूका अनुसार प्रदर्शनकारीले आफूहरूमाथि आक्रमण गरेको हुनाले प्रहरीले गोली प्रहार गरेको जानकारी दिएका छन्।सो प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपका कारण अरूपनि सयौं व्यक्ति घाइते भएको बताइएको छ। बङ्गलादेशको राजधानी ढाकालगायतका विभिन्न प्रमुख सहरमा कडा सुरक्षा व्यवस्था अपनाइएको भएतापनि हिंसा जारी नै रहेको छ। रासस/एएफपी
No comments:
Post a Comment