कथित मानवअधिकारवादीले अफवाह फैलाए
काठमाडौं, चैत ८-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा बालकृष्ण ढुंगेलको संलग्नता नरहेको दाबी गरेका छन्। विहीबार विज्ञप्ति जारी गरि प्रचण्डले ढुंगेल २०४२ सालदेखि पार्टीमा निरन्तर क्रियाशील रहेको भन्दै संलग्न नभएको घटनामा झुठ्ठा मुद्दा तयार गरी फसाएको तथा राज्यले यातना दिएको बताएका छन् ।
यातनाबाट ढुंगेलको एउटा मृगौला काम नलाग्ने भएकोसमेत प्रचण्डले उल्लेख गरेका छन् । मुलुक निर्वाचनको प्रक्रियामा होमिएका बेला सबैले जिम्मेबार बन्नुपर्ने उनले बताए ।
द्वन्द्वकालका घटनासम्वन्धी मुद्दा सत्य निरुपण आयोगले हेर्ने र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थामा ढुंगेललाई कारबाहीको माग गर्दै भएको प्रदर्शनलाई प्रचण्डले ‘सडक नाच’को संज्ञा दिएका छन्। ‘द्वन्द्वकालका घटनासम्वन्धी मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्ने अवस्था प्रति जिम्मेवार रहँदै सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थामा कथित नागरिक कार्बाही गर्ने भन्ने सडकनाच सर्वोच्चको भावना विपरित त छँदैछ ‘ प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘सिंगो शान्ति प्रक्रियाविरुद्धको क्रियाकलाप समेत हो ।’ मानवअधिकार र नागरिक आन्दोलनका नाममा शान्ति विरोधी गतिविधि भएको भन्दै प्रचण्डले अफवाहको पछि नलाग्न आग्रह गरेका छन् ।
बालकृष्ण ढुंगेलविरुद्ध अधिकारकर्मीहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि निरन्तर धर्ना दिँदै आएकोमा प्रचण्डले त्यसप्रति लक्षित गर्दै मानवअधिकार र नागरिक आन्दोलनका नाममा गरिएको शान्तिविरोधी गतिविधिको संज्ञा दिएका छन् ।
No comments:
Post a Comment