Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 25, 2013

मलेसियाको घटनामा ९ नेपाली पक्राउ, घाइतेको स्थिति सामान्य

काठमाडौं, चैत १२- मलेसियाको जोहोर बारुस्थित पासिर गुडाङमा हिजो साँझ विवादपछि भएको झडपमा ९ जना नेपाली पक्राउ परेका छन्। पक्राउ परेका नेपालीलाई आजै स्थानीय अदालतमा पेश गरिएको छ। अदालतको स्वीकृत लिएर उनीहरुलाई जोरबारस्थित प्रहरी कार्यालयमा राखिएको क्लालम्पुरस्थित नेपाली दूताबास स्रोतले जनाएको छ।
पक्राउ पर्नेहरुमा सन्तोष पौडेल, रमेशबहादुर भुजेल, अमन गुप्ता, रकम राई, मनोज सुनार, निलकण्ठ जैसी, दलबहादुर बम्बो, पवन साह र राकेश राय यादव छन्। उनीहरुलाई स्थानीय अदालतबाट म्याद थप गरी जोरबारस्थित स्थानीय प्रहरी कार्यालयमा राखिएको दूताबास स्रोतले नागरिकन्युजलाई बतायो। स्थानीय समयअनुसार हिजो साँझ ६:३० बजे पक्राउ गरिएका नेपालीहरुलाई प्रहरीले के अभियोग लगाएको भन्ने कुरा अझै खुलेको छैन। स्थानीयसँग भएको झडपमा नेपालीलाई पक्राउ गरिए पनि मलेसियन नागरिक भनै कसैलाई पनि पक्राउ नगरिएको दूताबास स्रोतले जानकारी दियो।
'सुरक्षा माग्दै हामी यहाँको परराष्ट्र मन्त्रालाय गएका थियौं', स्रोतले भन्यो- 'मलेसिया सरकारले सबै ठाउँमा रहेका नेपालीको सुरक्षा बारे ढुक्क हुन आग्रह गरेको छ।'
घटनामा परी घाइते हुनेहरु नुवाकोट, सामरी-४ का राजीव विश्वकर्मा र रौतहट, चन्द्रनिगाहपुर, महोम्मदपुरका रामलाल साह छन्। उनीहरुको सुल्तान अस्पतालमा उपचार भइरहेको छ। दूतावास स्रोतका अनुसार उनीहरुको टाउको, खुट्टा र हातमा चोट लागेको भए पनि स्वास्थ्य स्थिति गम्भीर छैन।
यसैबीच क्लालम्पुरस्थित नेपाली दूताबासले विज्ञप्ति प्रकाशित गर्दै मलेसियामा रहेका नेपालीहरुलाई संयमित हुन आग्रह गरेको छ। 'मलेसियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुले संयमतापूर्वक आ-आफ्नो कार्य यथावत् रुपमा गर्नुहुन र वातावरण उत्तेजित बनाउने खालका कुनै पनि क्रियाकलापमा संलग्न नहुन र आफूलाई कुनै किसिमको असमञ्जस्य अवस्था आइपरेमा दूताबासमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ', दूतावासको विज्ञप्तिमा भनिएको छ।

No comments: