Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, April 1, 2013

अनुत्तरित प्रस्नहरु

सुस्त मनस्थिति भएको बीरुको छोरो कान्छाले आँगन संगैको खोल्मामा बाँधेको लैनो गाईलाई तीन-चार सिर्कना लगाएर कराउँदै भन्यो, “लु मर ! अहिले गोबर सोहोरेर सफा गरेको होइन, फेरी हगिस् ?” गाईले दाम्लो छिनाएर भागौंला झैं गरेर यता र उता गर्यो । बीरुले कान्छालाई सम्झाउदै भन्यो, “अबुई कान्छा ! गाईलाई त्यसरी कुट्नु हुन्न नि ! फेरी दूध दिदैन , अनि के खानु हामीले ?” कुट्यो भने दूध दिदैन र बाबु ? कान्छाले सोध्यो । दिन्न नि बाबु , त्यसरी पशुलाई कुट्नु हुदैन माया पो गर्नुपर्छ । एक छिन पछि हसियाँ लिएर घरको गारो कोर्दै कान्छो घर पछाडितिर लाग्यो । बीरुले आफ्नो मातृ भाषामा बोलायो । आतान्बे कान्छा ? कोन्ना फेरे , कोन्ना फेरे !! (कहाँ जान्छस् हौ कान्छा ? यता आइज , यता आइज)
कान्छोले आफ्नो बाबुको छेउमा बसेर सोध्यो “के गरेको बाबु ?” बीरु भन्छ, डोको बुनेको । किन बुनेको कान्छाको प्रश्न । घाँस दाउरा बोक्नको लागि बाबुले जवाफ दिन्छ । किन घाँस दाउरा बोक्ने ? कान्छाले प्रस्न माथि प्रस्न तेर्स्याउँदै जान्छ । कान्छाले डोकोको इतिहास खोज्न थाले पछि बीरु कान्छाको कुरा मोड्नलाई हामी भोलि बजार जाने ल कान्छा भन्छ । थोरै थोरै सुस्त मनस्थितिको छोरोलाई बीरुले कपासमा सुताएको छ । जता जान्छ सँगै लिएर जान्छ । केही कुराको अपुग नहोस् भनेर मरी हत्ते गर्छ । कोही गाउँलेहरु भन्छन् , होइन यो लठेप्राले के नाप्छ भनेर बीरु मरी हत्ते गर्छ हँ ? कसैले भन्छन् , बिचाराले आमाले दिने माया सबै दिएको छ । बीरु उसको छोरोलाई कहिल्यै गाली गर्दैन , नराम्रो भन्दैन । कान्छाको मनोविज्ञान बुझेर कुरा गर्छ ।
एक पटक कान्छो निकै दिन झोक्रायो । कान्छाले बाबुलाई भन्यो , “बाबु ! आमा लेउ न हौ ”। बीरुले भन्यो तँ अलिक ठूलो भए पछि आमा आउँछु भनेकी छे । म कहिले ठूलो हुन्छु बाबु ! कान्छो प्रस्न गर्न थाल्छ । अब छिटै कान्छो ठूलो हुन्छ अनि आमासँग भेट्ने है भन्दै बिरु आफैले कान्छालाई झारफुक गर्यो । कान्छालाई बिशेक भएन । बारीको डिल छेउमा सेउली गाडेर कुखुराको अन्डा चढाई हिड्यो , त्यो पनि काम लागेन र अन्त्यमा फुल दिदैं गरेको कालो पोथी कुखुरोलाई हेनेमेने गर्ने निहुँमा स्वाहा पार्यो । बेलुकी कुखुरो भुत्ल्याएर ततात्तो झोलसँग कान्छालाई खाना खुवाउँदै गर्दा अगेनामा बल्दै गरेको आगोको उज्ज्यालोले भित्तामा उसकी प्रिय स्वास्नी दिलशोभाको छायाँ देख्यो । काटीकुटी दिलु उस्तै छे , कपाल गुजुल्तटयाएर डल्लो पारेकी , चोलोको एउटा तुनो खुल्ला छ  , दुबै हातमा एक एकवटा चाँदीका बाईं छन् । काम गर्ने तरीका उस्तै , त्यसै गरी हाँस्छे । बीरु अचम्ममा पर्यो । दिलु ! तैले मलाई ठूलो भुमरी भित्र छोडेर एक्लै गइस् । म माथि आकाश खस्यो ।
हल कनाह भए जसो तसो चल्थ्यो होला , जोडी नै नभए पछि केही नहुने रहेछ । हामी वीचमा केही स्वार्थ थिएन् । समर्पण र त्याग थियो । तैले त्याग गरिस् , मैले समर्पण गरे । म तेरो रुप , गुण , जवानी र मायामा पग्लिएँ । तलाईं एउटा साहरा र भरोसाको खाँचो थियो । एकले अर्कोलाई अंगालियो । तर समय नै नभई मलाई यस्तो मोडमा लगेर छोडी दिइस् । न त अगाडि जान सक्छु , न पछाडि फर्कने बाटो छ । कस्तो बिलखबन्दमा परेको छु । अगाडि बढ्नको लागि म त्याग गर्न सक्थेँ । त्यो तेरो लागि हुन्थ्यो । पछाडि फर्केर मेरो स्वार्थको निर्णय गर्न सक्थे , त्यो मेरो लागि हुन्थ्यो । तर वीचमा एउटा सानो सुस्त मनस्थितिको पिप्सो छोडेर गएकी छेस् । एकातिर पर कतैबाट तैले चिहाइ रहेकी होलिस्  , त्यसले कतै दु:ख पाउने हो कि भनेर । अर्कोतिर सामने यो अबोध बालक मलाई सयौं अन्नुतरित प्रस्नहरु गरी रहन्छ । म यस्तो भयानयक र डर लाग्दो मानसिकताको पराकास्टभित्र रुमलिएको छु । यो बालक एक्लै हुँदाको अवस्था सम्झेर मलाई डरलाग्दो त्रासले खाँदै लागेको छ । यस्तो परिस्थितिलाई भगवानले पनि केही गर्न सक्दैनन् । यदि भगवानले केही गर्न सक्ने भए मैले पानीबाट झिकेको माछो हुनु पर्थ्यो र ? गाला सम्म बगेका आँसुका थोप्ला देखेर कान्छाले भन्यो , “ बाबु ! तिमी रुँदै छौ कि के हो ? बीरु समालिदै भन्छ होइन कान्छा ! यो दाउराको धुँवा मेरो आखाँमा परेर आँशु आएको हो । यो दाउरालाई बाहिर लगेर फ्याँकी दियँ बाबु ? कान्छो प्रस्न गर्छ । 
केही दिन पछि कान्छो अलिक उजिल्लियो । दशैं घरभित्र पस्न लागेको थियो । सिकुवाको आटमा बसेर बीरु खेतका गरामा  झुलेका धनका बालातिर हेर्दै फेरी दिलुमा ठोक्किदै भन्यो ,”दिलु ! तैले जितिस् , मैले हारें । वास्तवमा यो हारजितको खेल थिएन , तर निर्णय यस्तै भयो ।” अनौठो संयोग भनौ कान्छो पनि घुम्दै गएर बीरुलाई आमा कहिले आउने हौ बाबु भन्दै प्रस्न राख्यो । कान्छाको मनस्थिति बुझेर बीरुले दशैमा हामी बजुको घरमा जाने है कान्छा भन्दै उसको जिज्ञासा टार्यो । कान्छालाई पिठ्यूँमा बोकेर बीरु ससुराली हिड्यो । कान्छो कहिले बाबुको चिउडो समाउँछ , कहिले उस्का पातला तिखा परेको जुँगा उखेल्न खोज्छ , कहिले बाबुको टोपी झिकेर आफ्नो टाउकामा लगाउँछ । कान्छालाई देखेर बीरुकी सासुले भनिन् , आम्मै नि ! नाती त मेरी छोरी  जस्तै अनुहारको पो भएछ त । काटिकुट्टी उस्तै पो छ त हौ ! फेरी कान्छाले आमा खोज्दै भन्यो , “मेरो आमा कहाँ छ बजु ?” बिरुले कान्छालाई थम्थमाउँदै भन्यो अब चाडै आउँछ कान्छा । सासुले सेता अक्षताका टीका लगाई दिदैँ ज्वाईंलाई भनिन् , होइन ज्वाईं ! अर्को बिहे गरेर बस भन्छु , मान्ने होइन । कसरी जिन्दगी बिताउछौ ? बीरू भन्छ , कुरा बुझिदेउ न आमा ! मैले अर्को बिहे गरें भने यो कान्छालाई कसले हेर्छ ? सौतेनी आमाको व्यवहार तिमीलाई नै थाहा छ । होइन हौ , सबै सौतिनी आमा त्यस्तो हुदैनन् भन्दै बूढी आशु पुच्छिन् , बीरु घुटुक्क थुक निल्छ ।
दिन , हप्ता , महिना र बर्षहरु आफ्नै गतिमा बिते । ऋतुहरु आउँदै जाँदै गरे । कान्छो शारीरिक रुपमा जवान हुँदै गयो ।  बाबुको असल व्यवहारले मानसिक रुपमा पनि केही परिपक्क भए जस्तो देखियो । उनीहरु वीचमा एउटा फरक देखिन थालेको छ । कान्छोमा जवानी चड्दै गयो बीरु बूढेसकालतिर लम्कन लाग्यो । काम गर्दा त्यति भातीं नपुर्याए पनि आजकल कान्छो घर खेतीको काम आफैं गर्छ । बीरु अलिक शारीरिक रुपमा पनि गल्न थालेको छ । कहिले काहीं बीरुलाई छाती देख्ने गर्छ । उसले कान्छालाई भन्छ । कान्छा ! मेरो छाती दुख्यो अस्पताल जाउँ है ! कान्छाले मलाई पनि दुखेको छ भन्छ । बाबुलाई हुने पीडा आफूलाई पनि भएको अनुभव गर्छ । ठूलो जवान भैसकेको छ फेरी पनि बाबुसँगै सुत्छ । बिरूको छाती निकै दुखे पछि स्वास्थ्य चौकी लानको लागि कान्छोले बीरुलाई पिठ्यूँमा बोकेर हिंड्यो । माथिको चौतारीमा पुगेर बिसाउँदै भन्यो , पिसाब लाग्यो हौ बाबु ! बाबु भन्छ , उतातिर गएर गर्न । कान्छो बाबु बसे भन्दा तीन चार हात पर गएर पिसाप फेरेर टक्टकाउँदै आएर फेरी बाबुलाई पिठ्यूँमा हाल्छ । बीरू पुराना दिनतिर फर्किन्छ । हिजो मैले यसलाई यही ठाउँमा बोकेर हिड्ने गर्थे , आज मलाई उसले बोकेर हिड्छ । दिलुलाई भगाएर यही बाटो आएको हिजो अस्ति जस्तो लाग्छ , आज ऊ भएकी भए...........कान्छाका काँधमा बीरुका आँसुका थोपा खसे ।  
कान्छालाई यो अवस्थामा पुर्याउन एउटा स्वास्थ्य चौकीको कम्पाउन्डरले ठूलो मद्धत गर्यो । कान्छासँग कस्तो व्यहार गर्ने भनेर बीरुलाई सधै सल्लाह र सुझाब दिने गर्थ्यो । जसै कान्छो बिरुसंग बजार जान्छ , नजिकै रहेको स्वास्थ्य चौकीको कम्पाउन्डर शोभा कान्त झासँग केही तरकारी घ्यू फलफूल लगेर भेट गर्छ । कान्छो सानो हुँदा शोभाकान्त उसलाई मिठाई दिदै भन्थ्यो , ओहो ! कान्छो त अब ठूलो हुन लागेछ है । आजकल कान्छोलाई शोभाकान्तले देख्ने बितिक्कै उसको काम गर्ने मानिसलाई भन्छ , लौ कान्छो आईपुगेछ । कान्छाको लागि मिठाई र सेल रोटी लिएर आउ । कान्छो खुशी हुँदै भन्छ , बाबुलाई पनि लेउ मलाई पनि लेउ है सर ! हरेक कुरा बाबुलाई भाग नलगाई केही खाँदैन । शोभा कान्तले बीरुलाई भन्यो हेर बिरु ! दिलशोभा चाडै गईन् , मलाई पनि बडो अफसोस् लागेको छ । झन् तिमीलाई त कत्रो घाउ लागेको होला । तर तिम्रो असल चालचलन ,बानी  बेहोरा , माया र राम्रो घरायसी शिक्षाको कारणले गर्दा तिम्रो कान्छोमा कति ठूलो परिवर्तन आयो । असक्त मानिसहरुलाई माया ममता , राम्रो घरायसी वातावरणले ठूलो प्रभाव पारेको हुन्छ । हेर ! अहिले कान्छाले तिमीलाई गर्ने माया न शब्दमा व्यक्त गर्न सकिन्छ , न बोलेर र बुझाएर ब्यक्त हुन्छ । तिमीसँग उसका अनुत्तरित प्रस्नहरु छन् । ऊसँग तिमीलाई गर्ने अथाह माया छ ।
कथाकार : एल एन सुवेदी “हस्ती”
मंगलबारे , ईलाम
हाल : यू ए ई        

No comments: