Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, April 1, 2013

असारमा त धान पो रोप्नुपर्छ : हरिवंश आचार्य

hari-banshaहरिवंश आचार्य
चर्चित हास्यव्यंग्य कलाकार हरिवंश आचार्य कलाकारितामा मात्र सीमित हुनुहुन्न । समाजसेवा र राजनीतिक चेतनामा पनि उहाँ उत्तिकै सकृय हुनुहुन्छ । आफ्ना सहकर्मी मदनकृष्ण श्रेष्ठसँग मिलेर हरेक राजनीतिक परिवर्तनमा उहाँले महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आउनुभएको छ । जनआन्दोलन सफल पार्नदेखि पहिलो संविधानसभा चुनाव सम्पन्न गर्न श्रेष्ठसँगै आचार्यले जनचेतना र प्रेरणाका धेरै काम गर्नुभयो । दुई वर्षअघि पत्नी मीरा आचार्यको निधनपछि केही महिना चुप बस्नुभएका हरिवंश फेरि कलाकारिता र सामाजिक काममा व्यस्त हुन थाल्नुभएको छ । उहाँले यो महिनाको अन्त्यसम्म आत्मकथा समेटिएको पुस्तक पनि सार्वजनिक गर्दै हुनुहुन्छ । पुस्तकका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा भेट हुँदा  आचार्यसित छोटो राजनीतिक कुराकानी गरेको छ :
नेताको ठाउँमा कर्मचारीले देश चलाउन थाले । कस्तो लाग्दैछ ?
–ठीक छ नि । अरु देशमा पनि यस्तो अभ्यास छ । दलहरुप्रति विश्वास हराएका बेला जनतामा अब केही हुन्छ कि भन्ने आशा पलाएको छ ।
दलहरु साँच्चै असफल भएका हुन् र ?
–हो नि त । उनीहरु असफल भएकैले त देशको अवस्था यस्तो भयो । संविधान बनेन । राजनीतिक स्थिरता भएन ।
अबचाहिँ संबिधान बन्ला ?
–संविधान बनाउने त दलहरुले नै हो । पहिलेको व्यवहार सच्याएनन् भने संविधान बन्दैन । तर, चुनाव चाहिँ पक्कै हुन्छ । यो सरकारले चुनाव गराउँछ भन्ने आशा छ ।
अहिले तयारी भएजस्तै असारमै चुनाव होला त ?
–असारमा त हुँदैन । असारमा त धान पो रोप्नुपर्छ । संविधानसभाको चुनाव गर्ने बेला होइन नि असार ।
तर, प्रचण्डले त यसपालि मनसुन ढीला हुन्छ भन्नुभएको छ नि ?
–पछि के हुन्छ भन्ने कुरा प्रचण्डलाई थाहा हुने भए देशको हालत यस्तो हुन्थ्यो र ? असारमा त गाह्रो छ ।
त्यसो भए मंसिरमा हुन्छ ?
–मंसिरमा पनि हुँदैन । असारमा धान रोप्न पर्यो । मंसिरमा धान थन्क्याउन पर्यो । धान थन्क्याउने बेलामा चुनाव गर्न हुँदैन ।
कहिले हो त चुनाव गर्ने मौसम ?
–अब असार, साउन र भदौ वर्षा र हिलोमैलोको बेला भयो । असोजमा दशैं, कात्तिकमा तिहार । मंसिरमा धान थन्क्याउने बेला । पुस र माघ जाडो लाग्छ । तिहार सकिएपछि कात्तिकमा गर्दा ठीक हुन्छ चुनाव । -हाँस्दै) कात्तिक मेरो जन्म महिना हो । यही महिना ठीक हुन्छ ल ।
पहिले संविधानसभा चुनाव सफल पार्न तपाईंहरुले टेलिचलचित्र मार्फत जनचेतनामूलक अभियान गर्नुभएको थियो । यसपालि के छ तयारी ?
पहिले हामीलाई निर्वाचन आयोगले सहयोग गरेको थियो । अहिले पनि आयोगले भनेमा हामी तयार छौं । तैपनि हामीले आफ्नो तर्फबाट जनचेतना जगाउने काम त गरी नै रहनेछौं ।
पहिलेको संविधानसभा चुनावमा भाग लिन भनेर तपाईंहरुले पनि जनतालाई भन्नुभयो । तर, खै संविधान बनेन त ?
–त्यो त नेताहरुका कारण नबनेको हो नि । हामी सबैले कामना गरेको हो । बनाउने हामीले होइन, नेताहरुले हो । उनीहरुले नसकेपछि के गर्ने ।
अबचाहिँ संबिधान बनाउन नेताहरुले के गर्नुपर्छ ?
–जातीयताको आधारमा संघीयतामा जाने कुरा गर्न बन्द गर्नुपर्छ । यसले जातीय द्वन्द्वसँगै संविधान नबन्ने अवस्था फेरि पनि सृजना गर्छ ।
कसरी जाने त संघीयतामा ?
–अरु कुनै बैज्ञानिक आधार खोज्नुपर्छ । जातीयताका आधारमा त हुँदैन । सबै जातिको अस्तित्व स्वीकार्नुपर्छ । तर, जातीयताका आधारमा संघीयतामा जाने हो भने यसले मुलुकलाई अप्ठेरो अवस्थामा पुर्याउँछ ।

No comments: