पुस १४ - भारतको नयाँ दिल्लीमा बलत्कारपछि ज्यान गुमाएकी युवतीको बारेमा समाचार संप्रेषण गर्नका लागि भारती टेलिभिजन च्यानलका लागि निर्देशन जारी गरिएको छ ।
न्युज ब्रोडकास्टर एशोसिएसन एनबिएले जारी गरेको निर्देशन अनुसार टिभी च्यानलहरुले मृतक युवती र आफन्तको तस्विर देखाउन, दाह संस्कार गरिने ठाउँ र समयबारे जानकारी दिन पाउने छैनन् ।
त्यस्तै युवतीको शव ल्याउँदा शव राखिएको गाडीको दृश्य देखाउन नपाउनेका साथै पीडितका घरमा ओभी भ्यान समेत लैजान पाउने छैनन् । निर्देशन उल्लंघन गर्नेलाइ कारवाही गरिने चेतावनी समेत एनबिएले दिइएको छ ।
भारतको दिल्लीमा सामुहिक बलात्कार र कुटपीटका कारण गम्भीर घाईते भएकी युवतीको सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचारका क्रममा शनिवार विहान ज्यान गएको थियो ।
२३ वर्षीया युवतीको दिल्लीमा तीन पल्ट अपरेशन भएपनि अवस्था नसुध्रिएपछि बिहिबार सिंगापुर लगिएको थियो । सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालले युवतीको शरीर र दिमागमा गम्भीर चोट लागेपछि धेरै अंगले काम गर्न छोडेर उनको ज्यान गएको बताएको छ ।
डिसेम्बर १६ तारिखमा भारतको दिल्लीमा गुडिरहेको बसमा ती युवतीको सामुहिक बलात्कार भएको थियो ।
मृत्युको खबर सार्वजनिक भए लगत्तै भारत भर प्रदर्शन चर्किएको छ र सुरक्षा व्यवस्था कडा पारिक्एो छ । दिल्लीको जन्तरमन्तर सहित भारतका विभिन्न ठाउँमा सरकार विरोधी प्रदर्शन भएको छ । जन्तरमन्तरमा बेलुकी मैनबत्ती जुलुक निकालिएको छ ।
सरकारले राजधानी दिल्लीमा सार्वजनिक ठाउँमा भेला हुन नपाउने गरी धारा १ सय ४४ लागू गरेको छ । दश वटा मेट्रो स्टेशन र भिभिआईपी क्षेत्रमा प्रवेश गर्ने सडकहरु बन्द गरिएको छ ।
जन्तरमन्तरमा दिल्लीका मुख्यमन्त्री शीला दीक्षीतका विरुद्ध नाराबाजी गर्नुका साथै घेराउ भएको छ । स्थिति तनावपूण बनेपछि सुरक्षाकर्मीले दिक्षीतलाइ कडा मेहनतका साथ बाहिर निकालेको थियो । राष्ट्रपति प्रणव मुखर्जीले शोक व्यक्त गर्दै देशले स्वाभिमान र जीवनको लडाई लडेकी साहसी र बहादुर छोरी गुमाएको प्रतिक्रिया दिनुभएको छ ।
विभत्स अपराधका लागि अपराधीमाथि छिटै र कडा कारवाही गर्नका लागि ठोस कदम उठाउनुपर्नेमा जोड दिंदै राष्ट्रपतिले पुरै देश शोकमा डुबेको बेला शान्त रहन अपिल गर्नुभएको छ । प्रधानमन्त्री मनमोहन सिंहले पनि दुखद घडीमा संयम राख्न अपिल गर्दै महिलाको सुरक्षाका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ ।
- एजेन्सीको सहयोगमा
No comments:
Post a Comment