काठमाडौं, पुस २१–
युद्ध अपराधको अभियोगमा वेलायतमा पक्राउ परेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामालाई शनिबार अदालत लगिने भएको छ । शसस्त्र द्धन्द्धको बेला युद्धबन्दीलाई यातना दिएको विरोधमा परेको उजुरीका आधारमा वेलायती प्रहरीले लामालाई पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिएपछि थप समय थुनामा राख्न र युद्ध अपराध सम्बन्धि मुद्दा चलाउन लामालाई अदालत लैजान लागिएको जनाइएको छ ।उनलाई सन् २००५ अप्रिल र मे महिनामा दुई युद्धबन्दीलाई यातना दिएको आरोप लगाइएको छ । लामालाई त्यहाँको प्रहरीले युद्धको क्रममा चरम यातना दिएको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।
लामालाई बेलायतको फोजदारी न्याय ऐन १९८८को धारा १३४ अन्तर्गत पक्राउ गरिएको हो । बेलायती प्रहरीमा भएका युद्ध अपराधसम्बन्धमा अनुसन्धान गरी बिशेषज्ञता हासिल गरेको टोलीले यसबारे छानबिन गर्छ । बेलायतको फौजदारी न्याय ऐनले युद्ध अपराध, यातनाजस्ता अपराध अभियोग लागेका व्यक्तिलाई बेलायती प्रहरीले पक्राउ गरी कारवाही गर्न सक्छ ।
सुडानमा शान्ति सेनाको रुपमा कार्यरत लामा श्रीमति भेट्नका लागि वेलायत पुगेका थिए । नेपाल सरकारले भने लामाको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न पहल थालेको छ । महासेनानी लामालाई रिहा गर्न वेलायत सरकारलाई आग्रह गर्दै शनिबार परराष्ट्र मन्त्रालयले नेपालस्थित वेलायती राजदूत जोन टक्नटलाई विरोध पत्र बुझाइएको थियो ।
अन्तराष्ट्रिय कानून र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्य सिद्धान्तविपरित विना आधार नेपाल सरकारलाई सूचना समेत नदिइ लामालाई पक्राउ गरेकोमा नेपाल सरकारले कडा आपत्ति जनाएको छ ।
No comments:
Post a Comment