विराटनगर, माघ ३ – सशस्त्र द्वन्द्वको समयमा मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गर्ने दैलेख प्रहरीका प्रहरी निरीक्षक विनोद शर्मा अहिले चर्चामा छन् ।प्रहरीको उपल्लो निकायको निर्देशन अवज्ञा गर्दै घटनाको छानविन गरिरहेको अन्तर्वार्ता मिडियाहरुलाई दिने प्रहरी निरीक्षक शर्मा साहसी, हिम्मतिलो र इमान्दार प्रहरी अधिकृत रहेको चर्चा मिडियाहरुमा आइरहेको छ । राष्ट्रिय दैनिक कान्तिपुरले शर्माको गुणगान गाउँदै एउटा समाचारनै तयार पारेको थियो । तर मिडियाहरुले दबङ्ग फिल्मका निडर चुलबुल पाण्डेजस्तै चित्रण गरिएका प्रहरी निरिक्षक शर्माको भित्री कहानी फेलापरेको छ ।
विराटनगर घर भएका प्रहरी निरीक्षक शर्माको थर भने भण्डारी हो । तर, उनी अहिले किन विनोद शर्मा भनेर आफ्नो परिचय दिइरहेका छन् भन्ने बारेमा एक तथ्य फेला परेको छ । २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका भण्डारी १२ वर्षसम्म प्रहरी निरीक्षकबाट बढुवा नहुनुको कारण पनि फेला पारेको छ ।प्रहरी निरीक्षक भण्डारी २०६२/०६३ को जनआन्दोलनमा विराटनगरमा कार्यरत रहँदा आन्दोलनमाथि दमन गरेकोले कालो सूचिमा परेका व्यक्ति रहेछन् । विराटनगर १६ पाञ्चाली घर भएका भण्डारीले जनआन्दोलनमा हिंसक रुपमा आन्दोलनकारीलाई दमन गरेकोले कानुन व्यवसायी जगत थापा नेतृत्वको स्थानीय छानविन समितिले उनलाई दमनकारीको अग्रसूचीमा राखेर कार्वाहीको सिफारिस गरेको थियो ।
जनआन्दोलनको समाचार संकलन गर्ने क्रममा अन्नपूर्ण पोष्ट दैनिकका विराटनगर संवाददाता मनोज श्रेष्ठमाथि भण्डारीले निर्घात आक्रमण गरेका थिए । भण्डारीकै नेतृत्वमा रहेको प्रहरीले उनकै अगुवाईमा विराटनगर बसपार्कमा पत्रकार श्रेष्ठमाथि कुटपिट गर्दै उनको क्यामरासमेत फुटाईदिएको थियो । उक्त घटनामा घाइते भएका पत्रकार श्रेष्ठ उपचारपछि क्षतिपूर्तिकालागि अदालतसम्म पुगेका थिए ।क्याम्पस अध्ययन गर्दा नेपाल विद्यार्थी संघका कार्यकर्ता रहेका भण्डारी प्रहरी निरीक्षकमा भर्ना भए सँधै गिरिजाप्रसाद कोइरालाको सेवा गर्ने बताउने गर्दथे । सहकर्मीहरुसँग प्रहरी निरीक्षकमा भर्ना भए कोइरालाको खुट्टाको पानी खान तयार रहेको बताउने भण्डारी काँग्रेसकै सोर्सको आधारमा प्रहरी निरीक्षक बनेका थिए । काँग्रेसको आशिर्वादमा प्रहरी निरीक्षक बनेका उनले जनआन्दोलनमा भने काँग्रेसलाई पनि छाड्नन् ।
जनआन्दोलन दबाउन उग्र रुपमा प्रस्तु हुने उनले आन्दोलनकारीलाई घाइते बनाएर अस्पताल पुगेपछि त्यही पुगेर आक्रमणको प्रयाससमेत गरेका थिए । जनआन्दोलनका बेला ८ विद्यार्थी संगठनको प्रदर्शनमा २०६३ वैशाख ११ गते अन्धाधुन्ध आक्रमण गरेर उनले दर्जनौं विद्यार्थीलाई घाइते बनाएका थिए । उनको पिटाईबाट मोरङ क्याम्पसका विद्यार्थीहरु नविन ढुंगाना, सञ्जीव पोखरेल, सञ्जिव भट्टराई, मुन्ना मिश्र, अशोक अग्रवाललगायत गम्भीर घाइते भएका थिए । घाइतेहरुको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको बेला उनले अस्पतालमै पुगेर ‘यिनीहरुको जिल्ला प्रहरी कार्यालयमा उपचार हुन्छ’ भन्दै पक्राउ गर्ने प्रयास गरेपछि चिकित्सक दिपक सिग्देलहरुले प्रतिवाद गरेका थिए ।
भण्डारीको जनआन्दोलन विरोधी हिंसक आक्रमणको ८ विद्यार्थी संगठनले विज्ञप्ती निकालेर भत्र्सना गरेका थिए । उनलाई सञ्चारकर्मी, नागरिक समाज र जनआन्दोलन समितिले पनि कार्वाहीको माग गरेको थियो ।
जनआन्दोलन सम्पन्न भएपछि छानविन समितिले प्रहरी निरीक्षक भण्डारीलाई जनआन्दोलन विरोधीको पहिलो नम्वरमा राखेर कार्वाहीको सिफारिस गरेको सो समितिका सदस्य रहनुभएका शिवबहादुर कार्कीले जानकारी दिनुभयो । सोही सिफारिसको कारण उनको अहिलेसम्म प्रहरी निरीक्षकबाट बढुवा नभएको बुझिएको छ ।
जनआन्दोलन सम्पन्न भएपछि उनलाई झापाको विर्तामोडमा ट्राफिक प्रहरी इञ्चार्ज बनाएर वैशाख १९ गते पठाइएको थियो । विर्तामोडमा स्थानीयले जनआन्दोलन विरोधी भन्दै कालोमोसो दल्ने प्रयास गरेपछि उनी २ दिनपछि डिउटी छाडेर भागेका थिए ।
जनआन्दोलन विरोधी र पत्रकारमाथि निर्घात आक्रमण गर्ने प्रहरी निरीक्षक विनोद भण्डारीले पत्रकार डेकेन्द्र थापाका परिवारलाई कसरी न्याय देलान् भन्ने प्रश्न विराटनगरवासीबीच चर्चामा रहेको छ । –जनविद्रोह दैनिकबाट
No comments:
Post a Comment