Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 27, 2013

च्यालेन्ज कप छनोट प्यालेस्टाइन सबैभन्दा बलियो


काठमाडौ, फाल्गुन १६ - नेपालले नर्थर्न मारियाना आइल्यान्डविरुद्धको खेलसँगै शनिबार एएफसी च्यालेन्ज कप २०१४ को छनोट सुरु गर्दै छ । समूह 'डी' मा प्यालेस्टाइन र बंगलादेश पनि छन् । मारियाना आइल्यान्डको राम्रो खेल्ने योजना छ । बाँकी तीनले छनोट पार गर्दै अर्को वर्ष माल्दिभ्समा फाइनल चरण खेल्ने लक्ष्य बनाएका छन् ।
एसियाली फुटबलको दोस्रो श्रेणीको प्रतियोगिताको पाँचौं संस्करणमा २० देशले ५ समूहमा रहेर छनोट खेल्दै छन् । प्रत्येक समूहको विजेताले सीधै फाइनल चरणमा प्रवेश पाउनेछन् । समूहमा दोस्रो हुने ५ मध्ये उत्कृष्ट २ ले पनि माल्दिभ्सको टिकट पाउनेछन् । आठ टिमले खेल्ने फाइनल चरणमा माल्दिभ्स आयोजकको हैसियतले छनोट भइसकेको छ ।
दशरथ रंगशालामा हुने छनोट समूह 'डी' बाट कुन टिमले फाइनल चरणमा स्थान बनाउलान् ? कुन टिमले अरू समूहको नतिजा कुर्नु पर्ला ? कसको सम्भावना बलियो छ ? उनीहरूले विगतमा कस्तो खेलेका थिए ? चारै टिमलाई नियालौं:
प्यालेस्टाइन खाडी मुलुक प्यालेस्टाइन छनोट पार गर्ने सबैभन्दा बलियो सम्भावना भएको टिम हो । उसले राम्रो तयारी गरेको छ । मुख्य तीन खेलाडीबिना नै उसले मैत्रीपूर्ण खेलमा भारतलाई नयाँ दिल्लीमै ४-२ ले तीन साताअघि हरायो ।
पश्चिम एसियाली च्याम्पियनसिपमा कुवेत र ओमानसँग साँघुरो हार बेहोरेको प्यालेस्टाइनले लेबनानलाई हराएको थियो । फिफा वरीयतामा सबैभन्दा माथि १ सय ५३ औंमा भएको टिम पनि हो, प्यालेस्टाइन । उसले खाडी र युरोपको लिग खेल्ने खेलाडी पनि समेटेको छ । उसले खाडीका बलिया टिमसँग नियमित खेल्ने गर्छ ।
गत वर्ष काठमाडौंमा भएको च्यालेन्ज कपको फाइनल चरणमा नेपाललाई २-० ले पराजित गर्दै प्यालेस्टाइन सेमिफाइनल पुगेको थियो । उसले पहिलो संस्करणको अन्तिम आठको यात्रा पनि तय गरेको थियो । प्यालेस्टाइन २००८ र २०१० को छनोटमा भने असफल भयो ।
नेपाल
एसियाली फुटबल महासंघले कमजोर देशको स्तर उकास्न सन् २००६ मा सुरु गरेको च्यालेन्ज कपको पहिलो संस्करणमै नेपालले सेमिफाइनल खेल्यो । उस्तै प्रदर्शन दोहोर्‍याएको छैन । नेपालले काठमाडौंमै खेलेर पनि तेस्रो संस्करणको छनोट पार गर्न सकेन ।
घरेलु मैदानमै गत वर्ष भएको चौथो संस्करणको फाइनल चरणमा गोलको खाता नै खोलेन । र, तीनै खेल हार्‍यो । त्यही असफलता पाँचौं संस्करणमा दोहोरिन नदिने प्रयासमा छ, नेपाल । फिफा वरीयताको १ सय ७४ औंमा रहेको नेपालले छनोटको तयारीमा झन्डै ४० दिन क्लोज क्याम्प सञ्चालन गर्‍यो । नेपाल मैत्रीपूर्ण दुई खेलमा पाकिस्तानविरुद्ध भने समान १-० ले हार्‍यो ।
तैपनि घरेलु मैदान र दर्शकको साथमा नेपालले छनोट पार गर्ने आस गरिएको छ । सहिद स्मारक 'ए' डिभिजन लिगको पहिलो चरणलगत्तै क्लोज क्याम्प भएकोले नेपाली खेलाडी फिट पनि छन् । मिडफिल्डमा सुधार गर्नसके नेपालको सम्भावना बढ्नेछ ।
बंगलादेश
दक्षिण एसियाको अर्को देश बंगलादेशको फुटबल स्तर नेपालकै हाराहारीको छ । नतिजा पनि उस्तै आइरहेको छ, कहिले नेपालले जित्ने कहिले बंगलादेशले । पाँच महिनाअघि काठमाडौंमा भएको यी दुईको मैत्रीपूर्ण खेल १-१ मा टुंगिएको थियो । १५ महिनाअघि साफ च्याम्पियनसिपमा नेपालसँग १-० ले हारेको थियो ।
फिफा वरीयताको १ सय ६९ औं स्थानको बंगलादेशले डच प्रशिक्षक लोडेविक डे क्रुइफको नेतृत्वमा दोस्रोपल्ट च्यालेन्ज कपको छनोट पार गर्ने योजना बनाएको छ । छनोट चरण नभएको पहिलो संस्करणमा बंगलादेश घरेलु मैदानमा क्वाटरफाइनल पुगेको थियो । दोस्रो र चौथो संस्करणको छनोटमै रोकियो । तीन वर्षअघि फाइनल चरण खेलेको बंगलादेश एक महिनाको तयारीपछि छनोट खेल्न काठमाडौं आइपुगेको हो ।
नर्थर्न मारियाना आइल्यान्ड
अमेरिकाको उपनिवेश नर्थर्न मारियाना आइल्यान्ड ओसियाना छाड्दै पूर्वी एसियाली फुटबल महासंघसँग सन् २००९ मा आबद्ध हुँदै एसिया प्रवेश गरेको हो । सन् १९९८ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको उसले तीन वर्षअघि फुटबल महासंघ -एएफसी) को एसोसिएट सदस्यता पायो । पूर्ण सदस्यता एएफसी साधारण सभाले दिन सक्नेछ ।
करिब ७० हजार जनसंख्या भएको मारियाना आइल्यान्डले फिफा वरीयता पाइसकेको छैन । उसको तथ्यांक राम्रो पनि छैन । छनोटको उसको लक्ष्य पनि राम्रो खेल्ने मात्र हो । नेपालले हराउँदै आएको मकाउले उसलाई ५-६ गोल हानेको वर्ष पनि भएको छैन ।
नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा उसले १ सय ८३ औं वरीयताको ग्वामसँग ८-० को हार बेहोर्‍यो । उसले १४ वर्षयता कुनै खेल जितेको छैन ।

No comments: