मुक्ति खनाल
सल्लाहकार, एनेकपा माओवादी
कलङ्की ,एकीकृत माओवादीको हेटौंडा महाधिवेशन गत माघ वीस गतेदेखि छब्विस गते सम्म सात दिन चलेर सफलतापूर्वक सम्पन्न भयो । यही फागुन एक गते अठारौं जनयुद्धको दिवस पारेर काठमाडौंको खुलामञ्चमा भव्य जनसभाका बीच घोषणा सभा पनि सकिएको छ । यो यसको एकताको सातौं महाधिवेशन थियो । शान्तिप्रक्रियामा आएपछि विभिन्न पार्टी, समूह र व्यक्तिहरु समावेस भएर निर्माण भएको पार्टी हुनुको कारण यो महाधिवेशनलाई एकताको महाधिवेशन भनियो । कतिपयले वैद्य खेमा अलग भएपछिको महाधिवेशनलाई एकताको भनिएकोमा किन भनेर प्रश्न उठाए पनि यसमा समावेश भएकाहरुको भावना समेटन एकता भनिनमा कमी गर्न हुनेथिएन ।
२०४८ सालमा चितौनको माडीमा सम्पन्न महाधिवेशन पनि विभिन्न समूह मिलेपछि भएकोले सो पनि एकताको महाधिवेशन नै थियो र ऐतिहासिक हुनगयो । सो महाधिवेशनले विद्रोह र ग्रामीण वर्गसंघर्ष सञ्चालन गर्ने र जनयुद्धमा जान सकिने नीति पारित गरेको थियो । सो वेला पार्टीको नाम नेकपा एकताकेन्द्र थियो । क.प्रचण्डको नेतृत्वको सो पार्टीले जब साँचै जनयुद्धमा जाने अठोट ग¥यो उग्रवामपन्थ भन्दै एक समूह अलग भयो । अब क.प्रचण्डको पार्टीले आफ्नो नाम नेकपा माओवादी राख्यो र जनयुद्धमा होमियो । जनयुद्धको कार्यदिशाले एक हदसम्म सफलता प्राप्तग¥यो । विश्वलाई नै हल्लाउने वलिदानिपूर्ण जनयुद्धले देशको कायापलट गरिदियो । राजतन्त्र समाप्त भयो, गणतन्त्र स्थापना भयो । देश संघीयतामा गयो । धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायलाई अगाडि ल्यायो । हिजो सुतेर वसेकालाई झकझक्याएर बिउँझायो र आफ्नो अधिकारको लागि सचेत बनायो । यो माडीमा सम्पन्न महाधिवेशनले एक ऐतिहासिक कार्यभार पूराग¥यो ।
अहिले हेटौंडामा सम्पन्न यो सातौं महाधिवेशन माडी महाधिवेशन पछि एक्काइस वर्षको अन्तरालमा भएको महाधिवेशन थियो । अहिले सम्पन्न सातौं एकताको महाधिवेशनलाई पनि एकीकृत माओवादीले ऐतिहासिक भनेको छ । यो महाधिवेशनलाई पनि ऐतिहासिक भन्नुमा कारण छन् ।
एक त जनयुद्धबाट आएको यो पार्टीले निस्सङ्कोच अन्य विविध वाम पार्टी,समूह र व्यक्तिलाई समेटेको छ । यसले अहिले सम्मका उपलब्धिलाई नयाँजनवादी क्रान्तिका आंशिक उपलब्धि भनेको छ । विश्वमा या त कम्युनिष्ट क्रान्तिहरु सफल भएका छन् या क्रान्ति सम्पन्न गर्न नसकेर सकिएका छन् । नेपाल मात्र यस्तो देश हो जहाँ सशस्त्र संघर्षको बीचमा आएर पूँजीपतिवर्गका पार्टी सँग संयुक्तमोर्चा कायम गरेर केही उपलब्धि हासिल गरिएको छ । उपलब्धि त हासिल भयो त्यसलाई आफ्नो प्रयास, आफ्नो सफलताको रुपमा बुझ्नेकाम पनि भयो । यो बुझ्ने विषय पनि प्रमुख यसकारण बन्यो यो बुझ्न नसक्दा वैद्य खेमा अलग समेत भयो । आफैले बलिदान गरेर हासिल गरेका उपलब्धिलाई चिन्न नसक्नु पनि वैद्यजीहरुको कमजोरी बन्न गएको छ , यो निकै दुखदायी पनि छ । एकीकृत माओवादीले यसलाई चिन्यो र अगि वढने बाटो तय गर्न खोज्यो । वैद्यजीहरुले चिन्नु भएन अलमलिनु भयो पछाडि फर्कन खोज्दै हुनुहुन्छ । यी दुइ पार्टीमा एकीकृत माओवादीले काठमाडौंमा विशाल जनसभाका बीच जनयुद्ध दिवस मनायो भने वैद्य माओवादीले थवाङमा गएर सो दिवस मनायो । यसले पनि सङ्केत गर्छ एमाओवादी जनतालाई सथमा लिएर अगाढि वढन चाहन्छ र वैद्यजीहरु जनयुद्धको उदगमस्थलबाट फेरि इतिहास दोहो¥याउन चाहनुहुन्छ ।
यसका अतिरिक्त यो एकताको सातौं महाधिवेशनले रणनीति र कार्यनीतिमा नै फेरवदल ल्याएको छ । अब यो पार्टीको अहिलेको रणनीति जनवादी क्रान्तिका बाँकि कार्यभार पूरा गर्दै समाजवादमा संक्रमण गर्ने हुनेछ । तात्कालिक कार्यनीति अहिले शान्तिपूर्ण तवरले जनताको पक्षमा संविधान निर्माण गर्ने हुनेछ । यसलाई “पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र संविधानसभाबाटै संविधान”मा सूत्रबद्ध गरिएको छ । अहिले सम्मका उपलब्धिलाई संविधानमा संस्थागत गरेर सरकारमा रहेर माथिबाट र जनतालाई सबल वनाई तलबाट दुवै ठाउँबाट हस्तक्षेप गरेर अगाडि वढने भनिएको छ । यदि संविधान बनेन भने वा बन्न सकेन या दिइएन भने सो विन्दुबाट विद्रोहको बाटो अबलम्बन गरिने भनिएको छ । जनवादी क्रान्तिका बाँकि कार्यभार पूरा गर्दै समाजवादमा संक्रमण गर्ने सन्दर्भमा राजनीतिक रुपमा सचेत कार्यकर्ता मार्फत जनतालाई आर्थिक समृद्धि तर्फ उन्मुख गराइने भनिएको छ । यो बाटो नितान्त नौलो बाटो हो । यसले देशलाई समृिद्ध सहित समाजवादमा लैजान खोजिएको छ । यो यस्तो मोड हो यसलाई दक्षिणपन्थी र उग्रवामपन्थी दुवैलाई बुझ्न कठीन छ ।
फागुन एक गतेको घोषणासभामा अध्यक्ष क.प्रचण्डले माडी महाधिवेशनमा प्रस्तुत आफ्नो राजनीतिक दस्तावेजलाई केही अन्तर्राष्ट्रिय र राष्ट्रिय कम्युनिष्टहरुले दक्षिणपन्थी दस्तावेज भनेका थिए र अहिले पनि हेटौंढा महाधिवेशनमा प्रस्तुत दस्तावेजलाई उस्तै गरी दक्षिणपन्थी भनिरहेछन् भन्नुभयो । साथै ती माओवादीलाई दक्षिणपन्थी भन्नेहरु जहाँको तहीं छन् तर माओवादी जनयुद्ध एवं शान्तिप्रक्रियाको फन्को मारेर जनताका बीचमा झ्याङ्गिएर धेरै ठूलो बनेको छ र जनताको विश्वास जित्न सफल बनेको छ । जनयुद्ध सुरु गर्दा गुलेली चलाउन नजान्नेले बन्दुक र युद्धको कुरा गर्ने भनेर हियाउनेहरु अहिले पनि सोही ठाउँमा रहेको तर माओवादी भने संसार हल्लाउने युद्धबाट खारिएर जनताका बीच लोकप्रिय भएको छ । अहिले हेटौंडा फर्केको माओवादीले देशलाई पुनः एक पटक कायापलट गर्न खोजेको छ ।
क.प्रचण्डको हेटौंडामा प्रस्तुत दस्तावेजलाई मुमाराम खनालले कान्तिपुरको आफ्नो लेखमा उहिल्यै एमालेको महाधिवेशनमा घनश्याम भुसालले ल्याएको विचार हो भनेर अवमूल्यन गर्न खोजेको पाइयो । कसैले सम्भवतः मुमारामजीको विचारलाई पक्डदै हेटौंडा जाँदा माओवादी फर्कदा एमाले भनेर प्रकारान्तरले दस्तावेज र समग्र माओवादीको अवमूल्यन गर्ने प्रयत्न गरे । अवमूल्यनमा कुरा मिल्यो, वैद्यजीले यी कुराको समर्थन गर्नुभयो । पहिलो कुरा मुमारामजीले क. प्रचण्डको र घनश्यामजीको दस्तावेज कति पढनुभयो, वहाँले अहिलेको अवस्थालाई घनश्यामजीले मदन भण्डारीले भनेको वहुदलीय जनवादी क्रान्ति पूरा भएको र अब आर्थिक क्रान्ति गर्ने भन्ने कुरा सँग अहिलेको माओवादीको दस्तावेज मिलेको भन्ने विषयलाई इङ्गित गर्नुभएको छ र यो घनश्यामजीको विचार हो भन्नुभएको छ ।
पहिलो क. प्रचण्डको दस्तावेजले घनश्यामजीले भने जस्तो जनवादी क्रान्ति पूरा भएको भनेको छैन । जनवादी क्रान्तिका बाँकी कार्य भार पूरा गर्दै समाजवादमा संक्रमण गर्ने भनेको छ । कहाँको वहुदलीय जनवाद आइसकेको भन्ने र जनवादी क्रान्तिका आंशिक कार्यभार मात्र पूरा भएको र जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न अगाडि वढने भन्नेका बीच कहाँ तादात्म्य छ ? दोस्रो जहाँ सम्म आर्थिक उन्नतिको कुरा हो राजा, पञ्च, काँग्रेस र एमाले सबैले भन्ने गरेको पाइन्छ , अहिले एमाओवादीले पनि आर्थिक उन्नतिको कुरा गरेको छ । तर चरम शोषण कायम राखेर एवं जनतालाई अधिकार विहीन वनाएर गरिने आर्थिक उन्नतिको कुरा र कम्युनिष्टले गर्ने आर्थिक उन्नतिको कुरामा ध्रुवीय भिन्नता छ , जसरी पूँजीवाद र साम्यवादमा भिन्नता छ । घनश्यामजीको सोचाइ यही अवस्था भित्रको आर्थिक उन्नतिको कुरा हो भने अहिले एमाओवादीले गरेको आर्थिक उन्नतिको विषय समाजवादी क्रान्तिको आधार तयार गर्ने विषय सँग सम्बन्धित छ । यो त राजा महेन्द्रले भन्ने गरेको शोषण रहित समाजको कुरा र कम्युनिष्टले भन्ने गरेको शोषण रहित समाजकोे भिन्नता जस्तै भिन्न कुरा हो । तर मुमारामजीको कुरा पत्याउने हो भने महेन्द्र र कम्युनिष्टहरुले भनेको शोषण रहित समाजको कुरा एउटै हो भन्नुपर्ने हुन्छ । यस्तो त पूँजीपतिहरुले भन्ने गर्छन् वा भ्रष्ट कम्युनिष्टहरुले भन्ने गर्छन् । मुमारामजी कुन कित्तामा पर्नुहुन्छ आफैले निक्र्योल गर्न सक्नुहुन्छ ।
एउटा पूँजीपतिले मजदुर ढाँटन मजदुरको भलाइको कुरा गर्न सक्छ , तर कम्युनिष्टहरु साँचै मजदुरको भलाइका लागि यो कुरा गर्छन् । पूजीपतिहरु यी दुवै विषय एकै हुन् भनेर आफु पवित्र बन्ने प्रयत्न गर्छन् र मजदुर वर्गलाई भ्रममा पार्न खोज्छन् । मुमारामजी पनि नितान्त नयाँ दिशामा अगाडि वढन लागेको एकीकृत माओवादीको कार्यदिशालाई एमालेको आँखाले हेरेर भ्रष्ट पार्न खोज्दै हुनुहुन्छ । तर यो वहाँको प्रयत्न महेन्द्रले मजदुर वर्गलाई ढाँटन गरिएको प्रयत्न भन्दा कत्ति पनि भिन्न छैन । आर्थिक उन्नतिको कुरालाई हेरेर काँग्रेस एमालेले हामीले पनि त यही भनेका छौं भनेर आफुलाई एकीकृत माओवादी जस्तै देखाउने प्रयत्न सुरु हुनेछ र उग्र वामपन्थी कोणबाट यी एउटै ड्याङका मूला हुन् भनेर भन्न थालिने छ । साथमा उपबुज्रुकहरु कान्तिपुर या यस्तै पूँजीपति वर्गका मिडिया प्रयोग गरेर त्यसलाई उराल्न थाल्नेछन् । तर जतिसुकै कराए पनि सुनलाई पित्तल बनाउन सकिन्न ।
क.प्रचण्डले अहिले हेटौंडा सम्मेलनबाट पारित दस्तावेज लेख्दै गर्दा जनयुद्धको कार्यदिशा लिँदा लेखिएको दस्तावेज लेख्दाको जस्तो अनुभूत भएको भन्नु भएको छ । सुरुमा कसैले नपत्याएको जनयुद्धले पछि आएर देश भित्र र वाहिरका सबै प्रतिक्रियावादीलाई अत्यायो, छटपटि पा¥यो । यो अहिलेको दस्तावेजले जो कार्यदिशा लिएको छ सो देखेर अब माओवादी सकियो भन्नेहरुलाई अत्याउन र छटपटि पार्न कति समय लाग्छ , विस्तारै थाहा हुँदै जानेछ । क.प्रचण्ड लगायत समग्र माओवादी नेता कार्यकर्ताको अगाडि चुनौति छ लिइएको अहिलेको कार्यदिशाले जति सक्दो चाँडो पूँजीपतिवर्गमा भुइँचालो ल्याउन सक्नुपर्छ । सबै कुराको छिनोफानो यसैले गर्नेछ ।
No comments:
Post a Comment