Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 3, 2013

आहा-रारा गोल्डकपमा थ्री स्टार च्याम्पियन


सन्तोष पोखरेल, पोखरा, माघ २१- थ्री स्टार क्लब ११औं आहा-रारा गोल्डकपमा च्याम्पियन भएको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनलमा ललितपुर टोली थ्री स्टारले आयोजक सहारा क्लबलाई १-० ले हराएर वर्षको पहिलो उपाधि जितेको हो। एघार वर्षमा पहिलोपल्ट फाइनल पुगेर सहाराको इतिहास रच्ने मौका अन्तिम समयमा टुटेको थियो। 
खेलको ८३औं मिनेटमा अफ्रिकी खेलाडी एडियुमी फेमीले गरेको गोल नै थ्री स्टारलाई च्याम्पियन बनाउन निर्णायक बन्यो। जीवन सिन्केमानको कर्नरमा वैकल्पिक खेलाडी अनिल गुरुङले हेड गर्दा सहाराका गोलरक्षक अजित प्रजापतिले पञ्च गरे। उक्त बल क्रसबारमा ठोक्किँदै रिबाउन्ड हुँदा फेमीले त्यसमै हेड गोल गरेका थिए। गोल हुनु १० मिनेटअगाडि अनिल विष्णु गुरुङको सट्टा मैदान छिरेका थिए। गोलकर्ता फेमी दोस्रो हाफको इन्जुरी टाइममा रातो कार्ड पाएर बाहिरिए।
थ्री स्टारले ३ लाख ५१ हजार तथा उपविजेता सहाराले २ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जितेका छन्। खेलमा थ्री स्टारका योगेश गुरुङ नै म्यान अफ द म्याच भए। थ्री स्टारले यसअघि आहा गोल्डकप दुईपटक (पाँचौं र नवौं संस्करण) जितेको थियो। 
सहाराले पाएका सीमित अवसर उपयोग गर्न नसक्दा उपाधि सपना पूरा गर्न सकेन। खेलको २९औं मिनेटमा योना इलियसको पासमा जेफ्री बोनीले प्रहार गरेको बल पोलमा ठोक्किएर बाहिरिनु टोलीका लागि दुर्भाग्य बन्यो। त्यस्तै ८१औं मिनेटमा योनाले थ्री स्टारका गोलकिपर एलन न्यौपाने बिट भएको अवस्थामा पनि खाली पोस्टमा गोल गर्न सकेनन्। 
सहाराका प्रशिक्षक किरण श्रेष्ठले पराजयको दोष रेफ्रीप्रति थोपरे। उनले रेफ्री लव खत्रीको गलत निर्णयका कारण सहारा पराजित भएको बताए। 'रेफ्रीको गलत निर्णयले हामीले पराजय भोग्नुपर्‍यो,' उनले भने। श्रेष्ठले त्यसबाहेक कुनै प्रतिक्रिया दिएनन्। 
थ्री स्टारले पनि फाइनलमा गोललाई धेरै अवसर पाएन। खेलको १२आंै मिनेटमा आदित्य चौधरीको पासमा जीवन सिन्केमानले गरेको सशक्त प्रहार गोलरक्षक अजितले जोगाए। 
थ्री स्टार प्रशिक्षक प्रदीप हुमागाईंले आफूले बनाएको योजनाबमोजिम खेलाडीले खेलेकाले उपाधि जित्न सफल भएको बताए। 'पहिलो हाफमै गोल निस्कनुपर्ने हो, निस्केन,' उनले भने, 'सुरुमा फिनिसिङिमा केही कमजोरी भएकाले गोल हुन सकेन।' थ्री स्टार प्रशिक्षकमा नियुक्त भएको छोटो समयमै टोलीले उपाधि जितेकोमा उनले खुसी व्यक्त गरे। 'मेरा खेलाडीले दिएइएको ड्युटीअनुसार खेले। त्यो नै सफलताको आधार हो,' हुमागाईंले भनेे।
प्रतियोगितामा थ्री स्टारका फेमी ३ गोलसहित सर्वाधिक गोलकर्ता भए। उनले १५ हजार रुपैयाँ पुरस्कार पाए। सामसुङ जावलाखेल युथले 'फेयर प्ले' उपाधि पायो। जावलाखेलले ५ हजार रुपैयाँ थाप्यो। 
प्रतियोगितामा सहाराका अजित प्रजापति उत्कृष्ट गोलकिपर भए। थ्री स्टारका विष्णु सुनुवार उत्कृष्ट डिफेन्डर, थ्री स्टारकै भिक्टर उत्कृष्ट मिडफिल्डर, सहाराका योना इलियस उत्कृष्ट स्ट्राइकर र थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईं उत्कृष्ट प्रशिक्षक भए। उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा सहाराका अजित प्रजापति सर्वोत्कृष्ट खेलाडी भए। उनले मोटरसाइकल पाए। अजितले उपाधि जितले फुटबलमा लागिरहन हौसला मिलेको बताए। विजेता खेलाडीलाई एन्फा अध्यक्ष गणेश थापालगायतले पुरस्कृत गरेका थिए। 

No comments: