दोहा– कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन लिग’ अन्तर्गत गत १ मार्च, शुक्रवारको खेलमा नेपालले प्रतियोगितामा अर्को शशक्त टोली कतार जुनियर्समाथि २–० को रोचक विजय हासिल गर्दै आफ्नो स्थान बलियो बनाएको छ ।निकै प्रतिस्पर्धात्मक खेलमा कतार जुनियर्समलाई स्तब्ध पार्ने क्रममा नेपालले २५–१३ र २५–२२ को निकै सान्दार नतिजा निकाल्न सफल भयो । ११ जनवरीबाट आयोजना भएको प्रतियोगिता राउण्ड रोविन चरणको अन्त्यतर्फ आइपुग्दासम्म कतार फाउण्डेशनसंगमात्रै पराजित नेपालले हालसम्मका ६ मध्ये ५ खेल जितेको छ । छैटौं चरणका खेल सम्पन्न हुँदासम्म नेपालको अंक अव ११ पुगेको छ । अव नेपालले प्रतियोगिताको सवैभन्दा बलियो देखिएको भारतीय टोलीको चुनौती पन्छाउन बाँकी छ ।
लिग अन्तर्गत गत शुक्रवारको अर्को प्रतिस्पर्धामा बलियो भारतले कमजोर लेवननलाई सहज २–० ले पराजित गर्दै अपराजित यात्रा लम्बाएको छ । फिलिपिन्सले गत साता नेपालसंगको पराजयको पिडा भुलाउँदै मोवासलातलाई २–० ले माथ दिएको छ । शुक्रवारको अन्तिम खेलमा इजिप्टले गत साताको पराजयबाट पाठ सिक्दै शशक्त प्रदर्शन ग¥यो । नेपालमाथि सफलता पाएको बलियो टोली कतार फाउण्डेशनलाई २–० ले पराजित गर्दै इजिप्ट रोचकढंगले खेलमा फर्कियो ।
भारतले अपिराजित यात्रा कायम राख्दै अंकतालिकामा १२ अंक जोडेको छ भने कतार क्लब्स जुनियर्सको ९ र फिलिपिन्सको ८ अंक छ । इजिप्टले ७, कतार फाउण्डेशनले ७ मोवासलातले ६ र लेवननको ३ अंक बटुलेका छन् ।
नेपालले अव अघिल्लो खेल ८ मार्चमा भारतसंग खेल्दैछ । यो राउण्ड रोविन चरणको अन्तिम प्रतिस्पर्धा हुनेछ । सो खेलपश्चात् अंकतालिकामा नेपाल र भारतको स्थान स्पष्ट हुनेछ । सेमीफाइनलमा कुन टोलीसंग भिड्ने भन्ने निर्धारण पनि सोही खेलपश्चात हुनेछ । प्रतियोगिताकै सवैभन्दा शशक्त टोलीसंग हुने प्रतिस्पर्धा भएकोले नेपालले आफ्नो सम्पुर्ण शक्ति खेलमा लगाउने ब्यवस्थापक बुद्व गुरूङले बताए । लिगका टेक्निकल मेम्बर तथा यहाँस्थित नेपाली समाजका अगुवा सागर नेपालले नेपाली टोलीलाई समर्थनका लागि खेलस्थलमा उपस्थिति निरन्तरता दिन अपिल दोहोराएका छन् ।
No comments:
Post a Comment