Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 23, 2013

कृषि क्याम्पस स्थापनार्थ धार्मिक महोत्सव सुरु पहिलो दिन ११ लाख दान संकलन


दिपक बुढा
सुर्खेत, १० चैत्र । पश्चिम बड्डिचौरमा शनिबारदेखि सुर्खेत धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. पदमलाल देवकोटाले गरेका हुन् । १७ गतेसम्म संञ्चालन हुने महोत्सवको पहिलो दिन ११ लाख दान संकलन भएको छ ।कृषि क्याम्पस स्थापनार्थ आयोजना गरिएको महोत्सवमा २० लाख बराबरको खर्चमा अनुमान गरिएको आयोजकले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने महोत्सवबाट  करिब तीन करोड बढी रकम सहयोग संकलन गर्ने अपेक्षा राखिएको जनज्योति उमाविका प्राचार्य एवंम आयोजक मूल समिमितका महासचिव नारायण सिग्द्धेलले जानकारी दिए । 

पहिलो दिन जीवनज्योति उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष जगत मर्साङगी २ लाख ११ हजार, यदु ज्ञावली ५१ हजार एक सय ११, वातावरण परिवारले एक लाख ११ हजार, रुपन्देही सुनजाँदी पसल ११ हजार १० रुपैयाँ, डम्मरबहादुर वस्नेत १५ हजार, टोपबहादुर नेपाली ११ हजार एक सय ११, धेरै व्यक्तिहरुबाट सानो सानो रकम गरी कुल ११ लाख संकलन भएको जनाईएको छ ।
महोत्सव उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि एवंम मप विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले पवित्र उद्देश्य लिएर आयोजना गरिएको महोत्सवले सफलता पाउने बताए । क्याम्पस विश्वविद्यलायमा बढ्दो राजनीतिकरण र तालाबन्दीको समस्याका बारेमा प्रतिक्रिया दिँदै उपकुलपति देवकोटाले ताला लाउने छोरा नजन्माउन महोत्सवका सहभागिहरुलाई सुझाव दिएका थिए ।
उनले भने “गाउँको विकास गर्न स्थानीय स्तरबाटै एक जुट भएर लाग्नुपर्छ । कृषि विभाग मार्फत यस क्षेत्रमा कृषि विषयको सुरुवात गर्ने विश्वविद्यालयले लक्ष्य लिएको छ ।” “सबैको सहयोगमा विकास हुने हो । ताला लाउने छोरा कसैले नजन्माउनु ।” —उनको भनाई थियो ।
सोही अवसरमा बोल्दै सुर्खेतका दानविर मोतिप्रसाद सापकोटाले शिक्षाको पवित्रा कार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कृषि क्याम्पस यस क्षेत्रको आवश्यकता रहेको बताउँदै क्याम्पस स्थापनार्थ सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
महोत्सवबाट ३ करोड १० लाखको संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसै अनुसार कुनाथरीमा रहेका सम्पूर्ण सामुयिक वनहरुबाट मात्रै करिव दुई करोड रकम सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ । महोत्सव तयारीका लागि ६५ वटा उपसमिति तथा टोल स्तरमा गरी २ सय सहयोगी समिति समेत गठन गरिएको जनाइएको छ ।
जनज्योति उच्च मावि कुनाथरीले विगत तीन बर्षदेखि सिटिभिटिबाट १५ महिने एनेक्स कार्यक्रम संचालन गरिरहेको छ । विद्यालयको आफनै नाममा तीन विगाह जग्गा, कृषि फर्म, कृषि औजार, ल्याव सहितका केही पूर्वाधारहरु रहेको उच्च माविका प्राचार्य नारायण सिग्देलले जानकारी दिए । 
“तीन बर्षे आईएसएजी कोष सुर्खेतमा भित्र्याउन सिटिभिटीलाई निवेदन दर्ता गरेका छौं । संकलित रकम क्याम्पसको भवन निर्माण तथा अन्य शैक्षिक सामाग्रीमा खर्च गर्ने योजना बताएका छौं” प्राचार्य सिग्देलले बताए । 
विभिन्न राज दुतावास, दातृ निकायसंग समेत सहयोग माग गर्न पहल थालिएकाले विभिन्न निकायबाट सहयोगका आश्वासनहरु पाईएको जनाईएको छ । तत्काल उच्च माविले भैंसीपालन, मौरीपालनलाई सुरु गर्ने तयारीमा रहेको जनाईएको छ ।
महोत्सव उद्घाटन पछि प्रत्येक दिन विहान ५ बजे देखि ७ बजे सम्म योग विज्ञान शिविर, १० बजे देखि ४ बजे सम्म संगितमय कथा प्रवचन एंवम् झाँकी र साँझ आरती तथा १ सय ८ दिप प्रज्वलन गरिने जनाइएको छ । 
त्यस्तै राती ९ बजे सम्म थारु, हिन्दी र नेपाली भाषामा कथा, भजन कृर्तन गरिने जनाइएको छ । १ सय ८ सालिग्राम भगवान दर्शन प्रत्येक दिन आकाश दिप प्रज्वलन गरिने प्रशिक्षक गुरु गोविन्द शरणले जानकारी दिए । 
महोत्सवमा ४१ लाख भन्दा बढी दान गर्ने ब्यक्तिको नाममा क्याम्पसको नाम राखिने आयोजकले जनाएको छ । साथै एक लाखदेखि माथि दान गर्ने दाताहरुलाई सबै सम्मान सहित कृति स्तम्भमा सबै परिवारको नाम अंकित गरिने र पञ्चेबाजा सहित घरबाटै गाडीमा महोत्सव स्थल सम्म ल्याउन जनाईएको छ ।
पाँच लाख भन्दा माथि दान गर्ने दाताहरुलाई सबै सम्मान सहित दाताले तोकेको व्यक्तिको नामबाट कृषि क्याम्पस कोठाको नामकरण गरिने, ११ लाख भन्दा माथि दान गर्नेलाई सम्मान सहित तोकेको व्यक्तिको अर्धकदको शालिक निर्माण गर्न कृषि क्याम्पस परिसरमा स्थल उपलब्ध गराइने, २१ लाख  भन्दा माथि दान गर्नेहरुलाई सम्मान सहित तोकेको व्यक्तिको पूर्णकदको शालिक निर्माण गर्न कृषि क्याम्पस परिसरमा स्थल उपलब्ध गराउने, ३१ लाख भन्दा माथि दान गर्नेलाई तोकेको नामबाट कृषि क्याम्पस भवनको नामाकरण गरिने जनाइएको छ । 

फोटा ः धार्मिक महोत्सवको उद्घाटन गर्दै मप विश्वविद्यालयका उपकुलपति प्रा.डा. पदमलाल देवकोटा ।


No comments: