Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, April 15, 2013

जुजभाई पाँचौं पटक जिब्रो छेडे

२ वैशाख, भक्तपुर । भक्तपुरको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा सोमबार थिमी बोडेका ३२ वर्षीय जुजभाई बाँसश्रेष्ठले पाँचौं पटक जिब्रो छेड्नु भएको छ ।

चैत मसान्तदेखि निराहार ब्रत बसेका जुजुभाईले १० इन्च लामो सुइरोले जिब्रो छेड्नु भएको हो । जिब्रो छेड्ने सुइरो एक महिनादेखि तेलमा डुबाएर राखिन्छ । सोमबार बिहान कर्मी र नाइकेहरुले विभिन्न देवगणको पूजा गरेर पाँचो गणेश पार्टीमा मञ्च बनाएपछि जुजुभाईलाई बाजागाजाका साथ त्यहाँ राखिएको थियो ।

जिब्रो छेडेपछि बाँस र निगालोले बनेको अर्धचन्द्रकारको महाद्वीप बाकेर जुजुभाईले टोल घुम्नु भएको थियो । त्यसपछि पाँचोगणेशको रथलाई भागुटोलस्थित महालक्ष्मी मन्दिरमा पुर्‍याएर नकर्मीले जुजुभाईको जिब्रोमा रहेको सुइरो निकाली महालक्ष्मीको माटो जिब्रो प्वालमा राखिदिएका छन् ।

उक्त सुइरो भने गणेश मन्दिरमा ठोकिन्छ । त्यसपछि जिब्रो छेडेका व्यक्तिले नाट्यम्बरको पुजा गरेपछि मात्र बोड्न, खान र छुन हुने पराम्परा छ ।

कसरी सुरू भो जात्रा ?

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत-प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिए । त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे ।

बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्‍यो । भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी बाँधिदिए ।पिशाचको जिब्रो छेडी बलेको महाद्वीप काठको भारी बोकाएर बोडे घुमाइन्छ । कष्ट सहन नसकी पिशाचले आपूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ ।

एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ । वाचा अनुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती उल्लेख छ ।

No comments: