काठमाडौं । नेपालीलाई प्रवेशमा कडाइँ गरेजस्तो पार्दै प्रहरीले क्यासीनोबाट ‘अनुचित लाभ’ लिने क्रम रोकिएको छैन । विगतमा प्रहरी नेतृत्व फेरिने बित्तिकै क्यासीनोमा कडाइँ गर्ने कार्यलाई अभियानकै रुपमा लिइन्थ्यो । तर, प्रहरीका वर्तमान सन्त महानिरीक्षक कुवेर सिंह रानाको नाममा पनि क्यासीनोबाट ठूलो परिमाणमा रकम कलेक्सन गर्ने गरिएको छ । तर, त्यसरी कलेक्सन गरिएको रकम कहाँ पु¥याइएको छ, कसले लुँड्याइरहेको छ ? पत्तो लगाउनै पर्ने भएको छ ।
क्यासीनो विशेष स्रोतका अनुसार कुवेर सिंह राना महानिरीक्षकमा बहाली भएपछि प्रहरीले क्यासीनोमा नेपालीको प्रवेशलाई झन् कडाइँ गर्दै आएको थियो । ‘तर, पछिल्लो समय सेटीङ मिलेको छ, मासिक पाँच लाख एउटा क्यासीनोले बुझाउने शर्तमा केही खुकुलो पारिएको छ’, क्यासीनो स्रोतले बतायो । उक्त स्रोतका अनुसार बौद्धस्थित ह्यात होटलमा रहेको स्टार क्यासीनोका ईडी (एज्यूकेटीभ डाइरेक्टर) प्रसन्न श्रेष्ठले आईजीपी रानालाई बुझाउने भन्दै सबै क्यासीनोबाट सेन्टर कलेक्सन गर्छन् । तर, त्यो रकम सन्त महानिरीक्षक रानाले नै बुझ्छन् या उनको नामबाट अरु कसैले बुझ्दै आएका छन् ? चासोको विषय बनेको छ । ‘त्यतिकै आईजीपीकै नामबाट रकम नउठाइनु पर्ने हो,’ स्रोतले भन्यो, ‘पक्कै पनि कुनै किसिमको ग्रिन सिग्नल हुनैपर्छ ।’
‘एउटा क्यासीनोले पाँच लाख मासिक महानिरीक्षकका लागि मात्रै बुझाउने हो,’ स्रोतले भन्यो, ‘स्थानीय प्रहरी यूनिट, जिल्ला र आयुक्तका इन्चार्जलाई छुट्टाछुट्टै भागवण्डा छुट्टाउनु पर्छ ।’ प्रहरीबाट लाइन मिलेकैले क्यासीनोमा पछिल्लो समय नेपाली जुवाडेको पनि हल्का प्रवेश बढ्न थालेको छ । ‘कडाइँमा सामान्य खुकुलो गरिदिने र बारम्बार छापा पनि हान्न नआउने गरी मौखिक सहमती भएको छ,’ स्रोतले खुलासा ग¥यो ।
हाल बौद्धस्थित स्टार, दरवारमार्गमा रोयल र अन्ना, लैनचौरमा भेनस, लाजिम्पाटमा ¥याड र सांग्रिला, नयाँ बानेश्वरमा एभरेष्ट र सोल्टीमोडमा नेपाल क्यासीनो सञ्चालनमा छन् । त्यसैगरी पोखरामा पनि दुई क्यासीनो सञ्चालनमा रहे पनि काठमाडौंका क्यासीनोका बराबर आम्दानी नहुने भएकाले ती क्यासीनोबाट भने केही कम रकम संकलन गर्ने गरिएको छ ।
यहीबीच, क्यासीनोमा नेपाली जुवाडेको प्रवेशमा केही खुकुलो तुल्याइएको हो भन्ने जिज्ञासा प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रणबहादुर चन्दसँग राख्दा उनले कसैले हल्ला चलाएको हुन सक्ने बताए ।
सेन्टर कलेक्सनको जिम्मेवारी लिएको भनिएका स्टार क्यासीनोका एजुकेटीभ डाइरेक्टर प्रसन्न श्रेष्ठसँग पनि सम्पर्क गरी तपाईंले कसलाई बुझाउने गर्नु भएको छ त भनी प्रश्न गर्दा त्यसरी रकम कलेक्सन नगरेको दावी गरे । उनले भने, ‘मान्छे माथि चढेको देख्नै नसक्ने समाज छ, आजका दिनमा यतीका क्यासीनोबीच प्रतिस्पर्धा छ । कसले कसलाई बद्नाम गराउने भन्ने योजनावद्ध ढंगबाट यस्तो प्रचार गरिएको हुन सक्छ ।’
काँग्रेसी राजनेतासँग नजिक रहेका प्रसन्न श्रेष्ठले आईजीपीको नाममा विभिन्न क्यासीनोबाट उठाएको रकम काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रणबहादुर चन्दलाई बुझाउने गरेको स्रोतले पत्ता लगाएको छ । जागिरे अवधिभर कहिँ कतै आर्थिक दाग नलागेका महानिरीक्षक रानाले आफ्नो नाममा रकम संकलन गरिएको चर्चालाई कसरी लेलान् ? त्यो पनि भविष्यले देखाउला ।
आईजीको नीतिगत सरुवा, एसपी हावी !
काठमाडौं । सम्भवतः नेपाल प्रहरीको इतिहासमै पहिलो पटक ठूलो लटमा इन्स्पेक्टरको सरुवा गत शुक्रबार गरिएको छ । ७ सय ५० इन्स्पेक्टरको सरुवा नीतिगत रुपमा गरिएको बताइए पनि न्यायिक मान्न भने सकिने अवस्था देखिन्न । शायद नेतृत्व सन्त भएको फायदा सहयोगीले लुटेको हुन सक्छ । सरुवामा को–कहाँबाट, कहाँ प¥यो ? व्यक्तिको नाम किट्नु आवश्यक छैन । तर, प्रश्न उठाउनै मिल्ने गरी नीतिगत र सैद्धान्तिक रुपमा सरुवा गरिएको भनिए पनि कसैलाई ‘क’बाट ‘ख’मा सरुवा गरिएको छ भने कसैलाई ‘ग’बाट ‘ख’मा लगिएको छ । सामान्यतया ‘क’लाई ‘ग’ र ‘ग’लाई ‘क’मा सरुवा गरिनु पथ्र्याे । त्यसो गरिएको देखिन्न ।
लामो समय राजनैतिक एवम् शक्तिकेन्द्रको हस्तक्षेपका कारण रोकिएको इन्स्पेक्टरको सरुवा यस्तो अवस्थामा हुन सक्यो, जतीबेला कहीँबाट कुनै हस्तक्षेप या दबाब थिएन । विगतमा गरिएका सरुवामा प्रहरी नेतृत्वले अन्यत्र देखाउँदै आफ्नो टाउको जोगाउने प्रयास गर्थे । तर, यसपाली त्यो पनि रहेन । तैपनि किन दबाबरहित इन्स्पेक्टर सरुवामा असन्तुष्टि र गुनासा यतिविध्न आइरहेका छन् त ? त्यसलाई केलाउन पर्ने देखिन्छ ।
प्रहरी संगठनले बल्ल समयानूकुल व्यवसायिक नेतृत्वकर्ता पायो भनेर भरोसामा परेका प्रहरीका सदस्य इन्स्पेक्टरको सरुवाकै विषयले झस्केका छन् । ‘जुन जोगी आए पनि कानै चिरेका’ यतिबेला कुवेरसिंह रानामाथि पनि यस्तै आरोप लाग्न थालेको छ । विगतमा प्रहरीका हरेकजसो काम कारवाहीमा तत्कालिन विभागिय मन्त्री विजय कुमार गच्छदारले चासो राख्दा स्वतन्त्रता, स्वच्छन्दताका साथ निर्णय लिन नसकेको अवस्था महानिरीक्षक रानालाई भए पनि पछिल्लो राजनैतिक परिवर्तनले उनले संगठनको हितमा गर्न सक्ने सबै निर्णय अधिकार प्राप्त छन् । त्यसमा पनि इन्स्पेक्टरका व्याचीलाई समयले विभागीय मन्त्रीका रुपमा उभ्याएको अवस्था छ । सायद, यस्तो अवसर कमैलाई मात्र मिल्छ । यस्तो अवस्थामा पनि नीति र सिद्धान्तका नाममा अन्याय र असन्तुष्टि सार्वजनिक हुनुले संगठन व्यवसायिकतातर्फ अग्रसर नहुन सक्छ भन्ने प्रहरी नेतृत्वले बुझ्नु पर्ने हुन्छ ।
हालै गरिएको इन्स्पेक्टर सरुवामा ५० प्रतिशत सरुवा नीतिगत भित्र परेको छ भने ५० प्रतिशतलाई पार्न खोजिएको देखिन्छ । त्यसमा जातियता झल्कीयो भन्नेहरुको संख्या पनि कम छैन । ट्राफिक तालिम लिएकाहरुलाई मात्रै ट्राफिकमा सरुवा गरिनु सकरात्मक पाटो हो । विगतमा चलखेल गर्नेहरुले त्यस्तो पोष्टिङ हात पार्ने गरेका थिए । यस पटकको सरुवामा महानिरीक्षक रानाका अति नै विश्वासीला मानिएका र उनी आईजीपी भएपछिको पहिलो एक नम्बर सरुवामा परेका पीए पुष्कर कार्की इन्स्पेक्टर सरुवामा हावी भएको आरोप लगाउन थालिएको छ । उनकै इशारामा यो सरुवा निस्केको दावी स्रोतको छ तर स्वयम् एसपी कार्की भने आरोपबाट उम्कन खोज्छन् । ‘इन्स्पेक्टर सरुवामा मेरो कुनै हस्तक्षेप भएको छैन, स्वतन्त्ररुपमा कप्रले नै गरेको हो,’ एसपी कार्कीले भने, ‘म विगतमा कप्रमा बसीसकेको भएकाले सरुवा पोलिसी बनाउने क्रममा सोधिएको थियो, तर सरुवाका सन्दर्भमा मेरो संलग्नता छैन ।’
एसपी कार्कीले जस्तो दावी गरे पनि राना महानिरीक्षक नियुक्त भएलगत्तै हेडक्वाटरको कमाण्ड सम्हाल्न पीएका रुपमा उनी नै आएका हुन् । त्यसयता उनले आईजीमाथि कुन–कुन अवस्थामा हावी हुदै आएका छन्, त्यो सचिवालयका सबैले नदेखेको नबुझेको विषय होइन । राना–कार्की सम्वन्ध पोखराबाट नजिकिएको बताइन्छ । त्यसबेला राना क्षेत्रिय डीआईजी र कार्की जिल्ला एसपी थिए । माओवादीसँग नजिक रहेको आरोप खेपिरहेका महानिरीक्षक रानालाई काँग्रेससँग राम्रो सम्वन्ध तुल्याइदिने शर्तमा उनी पीए भएको चर्चा हेडक्वाटरमा चल्ने गरेको छ । त्यसो त रिक्त पाँच एसएसपी पदमा आफ्नो बढुवा गराउने एसपी कार्कीको सपना सर्वाेच्च अदालतले नै तत्कालका लागि तुहाइदिएर महानिरीक्षक रानासँगको सम्वन्ध केही लम्बिन पाएको छ । त्यसबेला एसएसपी बढुवामा आफ्नो नाम सिफारिस नभएको भए त्यसैबेला एसपी कार्कीले महानिरीक्षक रानाको बद्ख्वाइँ सुरु गर्ने थिए ।
यसै विषयलाई लिएर प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका प्रमुख एसपी बसन्त लामासँग सम्पर्क गर्दा उनले यो सरुवा नै अहिलेसम्मको उत्कृष्ट रहेको आफूलाई फिड्व्याक आएको दावी गरे । ‘गृहमन्त्रीबाट क्राइटएरीया बनाएर त्यही मापदण्डअनुसार प्रायरोटी वेशमा आन्तरिक र नियमित कार्य गर्न भएको निर्देशनअनुसार सरुवा गरिएको हो,’ एसपी लामाले भने ‘१९५ इन्स्पेक्टर जागिरे अवधिभर इन्चार्ज बस्नै नपाएको अवस्था थियो, उनीहरुलाई त्यही अनुसारको जिम्मेवारी दिइएको छ ।’ कतैबाट कुनै किसीमको हस्तक्षेप नभएको पनि उनको दावी छ ।
यस पटकको सरुवामा प्रशासन विभाग प्रमुख एआईजी विनोद सिंह पनि हावी भएका छन् । डीआईजी प्रकाश अर्यालले गल्ती गरेकोमा कारवाही गर्नु पर्छ भनेर सिफारिस गरेको इन्स्पेक्टरलाई नातेदार भएकै कारण कारवाही रोक्ने मात्रै नभएर आकर्षक पोष्टिङ दिनुले पनि एआईजी सिंहको चलखेल प्रष्ट्याउँछ ।
No comments:
Post a Comment